kumari
stcnepal

नेकपा एमालेभित्रको विवाद समाधान हुने संकेत

काठमाडौ । सत्ताधारी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र पार्टीका नेता माधव कुमार नेपालबीचको लामो समयदेखिको सम्वादहिनता तोडिएको छ । गत कार्तिक २३ गते यी दुई नेताले एक्लाएक्लै छलफल गरेका ओली र नेपालले पार्टीमा अनेक उच्छालकुदपछि अस्ति बुधबार ८ गते सम्वादमा जुटेका हुन् । ओली र नेपाल पक्षीय नेताहरुबीच गत चैत्र १ गते पार्टी कार्यालय धुम्बारहीमा भएको छलफल तिक्ततापूर्ण सकिएपछि यी दुवै समूह आ आफ्नो बाटो लागेका थिए ।

कार्तिकमा भएको भेटमा पनि पार्टी अध्यक्ष ओलीले पार्टी विभाजनको डिलमा पुगेको भन्दै पार्टी जोगाउन नेता नेपालसँग ओलीले आग्रह गरेका थिए । पार्टी अध्यक्ष ओली र नेता नेपालबीच काठमाडौस्थित होटल मेरियटको कोठा नम्वर ९०१ मा ८ गते बेलुका यी दुवै नेताबीच छलफल भएको थियो । भेटको अवसरमा नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका थिए । छलफलको सुरुमा करिब १ घण्टा सम्म ओलीमात्र बोलेका थिए भने त्यसपछि मात्र नेता नेपाल बोलेका थिए । अध्यक्ष ओलीले नेकपा एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिको कुरा गरेपछि मात्र नेकपामा भएका गतिविधि एक अर्कालाई गरेको कारबाही सहितका सबै कुरा उठाउनु भएको सूत्रले दाबी गरेको छ । त्यस अवसरमा नेता नेपालले पार्टी अध्यक्षका कमी कमजोरीका कुरा उठाउनुभएको बताइएको छ । नेता नेपालले पार्टीलाई विभाजन हुनबाट जोगाउन २०७५ साल जेष्ठ ३ गते भन्दा अघिको अवस्थामा फर्किनुपर्ने बताएपछि अध्यक्ष ओलीले नयाँ परिस्थितिमा एमाले निकै अघि बढेको भन्दै आफ्नो बहुमत हुँदा तपाईहरुले मलाई चार पटक कारबाही गर्नुभयो । पार्टीको सधारण सदस्यबाट हटाउनुभयो भन्दै म भुईमा लडेको मान्छे हुँ धुलो टकटक्याउँदै उठे भनेका थिए । पहिला गरिएका निर्णयहरु यथावत् छन गुटगत वार्ता भन्दा पनि १० गते आजको बैठकमा सहभागि हुन आउनहोस् त्यही छलफल गरौँ तपाईहरुलाई म आग्रह गर्दछु ओलीले भनेका थिए ।

सत्ताधारी दल भित्रको विवाद मिलाउने प्रयास दुवै नेताहरुले गरेका खण्डमा विवाद समाधान हुन सक्छ । एकले अर्कोलाई खेद्ने कार्य बन्द गरेर नेकपा एमाले एकजुट भएको खण्डमा धेरै समस्याको समाधान हुन सक्छ । पार्टी अध्यक्ष ओली र नेता नेपाल छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागेका भएपनि दुवै पक्षका केही नेताहरु कुनै हालतमा पनि एमाले विभाजन हुनु हुँदैन भन्दै आएका थिए । त्यसैको फलस्वरप दुवै नेताबीचको सम्वाद सुरु भएको हो । एकातिर नेकपा एमाले विभाजनको डिलमा पुगेको अवस्थालाई हेरेर कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव र बाबुराम पक्ष जसरी भएपनि ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने रणनीतिमा लागेका बेला एमालेका दुई नेताबीच सम्वाद हुनु सकारात्मक पक्ष हो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल जसरी भएपनि ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न चाहिरहेका छन् । कांग्रेस, माओवादी र जसपा समाजवादी पार्टी एकै ठाउँमा उभिएको अवस्थामा ओली नेतृत्वको सरकार ढल्न सक्छ । तर जसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारका विरुद्धमा नभएकाले उनीहरुले कांग्रेस, माओवादीको गठबन्धनलाई समर्थन गर्न सक्ने सम्भावना न्यून रहेको छ । जसपाका ३२ सांसद मध्येका ठाकुर पक्षमा बहुमत सांसद रहेकाले गर्दा कांग्रेस माओवादीको गठबन्धन बन्न सक्ने अवस्था नदेखिएपछि माओवादी केन्द्रका अध्यक्षले माधव नेपाल समूहका केही सांसदहरुले फ्लोर क्रस गर्दछन भनेर अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने प्रयास गरेका थिए । तर पार्टी अध्यक्ष ओली र नेता माधव नेपालबीचको सम्वादहिनता तोडिएकोले गर्दा देउवा संसदमा अविश्वासको प्रस्ताव दर्ता नगर्ने पक्षमा पुगेको कांग्रेस सूत्रले दाबी गरेको छ ।

कांग्रेसका सभापति शेर बहादुर देउवााले समेत ताजा जनादेश नै लिनु पर्ने भन्दै त्यसै अनुरुप अघि बढ्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने अहिलेकै अवस्थामा कुनै हालतमा पनि निर्वाचनमा जान चाहिरहेका छैनन् । कम्युनिष्टहरुको मत विभाजन हुने भएपछि ताजा जनादेशले कांग्रेसलाई नै फाइदा पुग्ने देउवाको भनाई रहेको छ । प्रधानमनत्री ओलीको नेतृत्वको सरकारले गराउने निर्वाचन निष्पक्ष र स्वतन्त्र नहुने हो कि भन्ने डर कांग्रेसलाई रहेकाले गर्दा मात्र कांग्रेसले निर्वाचनको विकल्प स्विकार गर्न सकेको छैन ।

कांग्रेसले त्यो डरलाई साम्य पार्न प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई एक ढिक्का बनाएर कांग्ेसलाई सरकारमा सहभागि गराएर निर्वाचनको मिति तोक्न सक्ने सम्भावना समेत देखिएको छ । नेकपा एमाले, कांग्रेस र महन्थ ठाकुर पक्षका केही सांसदहरुलाई सरकारमा सहभागि गराएर ताजा जनादेशमा जाने सम्भावना देखिएपछि माओवादी केन्द्रका अध्यक्ष त्यसलाई रोक्न लागि परेका छन् । त्यही कारण माओवादीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । कानुनी रुपमा अहिले पनि माओवादी केन्द्र सत्ता पक्ष भएपनि उसले सत्तैमा बसेर सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्री ओलिलाई विस्थापित गर्न चाहानसले गर्दा माओवादी अध्यक्षलाई कुनै पनि दलका नेताहरुले विश्वास गर्न सकिरहेका छैनन् । माधव नेपालसँगको सम्बन्ध पनि अब छुट्ने अवस्थामा पुगेका हुनाले अध्यक्ष दाहाललाई छटपटी बढ्दै गएको छ । दाहाल भरिसक्य ओली र नेपाल एकै ठाउँमा नहुन् भन्ने पक्षमा रहेका छन् ।

footer