kumari
stcnepal

सरकारबाट सहयोग लिने अनि जस आफूलाई ?

काठमाडौ । कोरोना भाइरसका कारण चारैरित आक्रान्त छ । जनता स्वास्थ्य उपचार नपाएर प्रत्येक दिन मरिरहेका छन् तर राजनीतिक दलहरु भने जसरी भएपनि सत्ता हत्याउने खेलमै व्यस्त भएको छ । एउटा सेमिफाइनल खेल वैशाख ३० गते सकिएको छ । अब फाइनल खेल जेष्ठ ३० गते भित्रमा खेल्नुपर्ने भएको छ । त्यही खेलका लागि राजनीतिक दलहरु जोड घटाउनमै व्यस्त रहेका छन् । कोरोना भाइरसको कारण हजारौँ व्यक्ति संक्रमित भएका छन् । पाँच हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् भने अहिले पनि धेरै व्यक्तिहरुले उपचार पाउन सकेका छैनन् । सत्ताधारी दल नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्वले गर्दा केपी ओली नेतृत्वको सरकार पनि आफ्नो नेतृत्वको सरकार कसरी बचाउने भन्नेमै व्यस्त रहेको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादवपक्ष जसरी भएपनि ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न लागि परेको हुनाले जनता भने अभिभावक विहिन भएका छन् ।
सरकारले गर्ने हरेक काम कारबाहीको सुक्ष्म रुपले निगरानी राख्ने र राम्रा कामको स्वागत गर्दै नराम्रा कामको विरोध गरि सरकारलाई सही बाटोमा ल्याउने काम प्रमुख प्रतिपक्षी दलको भएपनि प्रमुख प्रतिपक्षी दल समेत आफ्नो भूमिका निभाउन असक्षम सावित भएको छ । नेपाली कांग्रेसलाई जनताले सत्तामा होइन प्रतिपक्षीमा बस्ने जिम्मेवारी सुम्पिएका छन् तर सो जिम्मेवारी समेत उसले निभाउन नसकेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई साथमा लिएर सत्ताको नेतृत्व गर्न खोज्नु कांग्रेसका लागि दुर्भाग्यको विषय हो । आफ्नो पार्टीको बहुमत हुँदा त सरकार सञ्चालन गर्न असक्षम भएको कांग्रेसले माओवादी केन्द्र र उपेन्द्र यादव पक्षको सहयोग र समर्थन लिएर सरकारमा जान खोज्नु जनताको अपमान हो । जनताले कांग्रेसलाई पाँच वर्षसम्म प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउने जिम्मेवारी दिएका छन् । त्यो जिम्मेवारी समेत निभाउन नसकेको कांग्रेसले सत्ताको नेतृत्व खोज्नु र सरकार निर्माण गर्न खोज्नु नै लोकतान्त्रिक अभ्यासको विरुद्धको कार्य हो ।
नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वले गर्दा समेत सरकार सञ्चालनमा मात्र होइन जनताको स्वास्थ्य उपचारमा समेत प्रत्यक्ष असर परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समिपमा रहेका माधव नेपाल समूहले पछिल्लो समयमा सरकारलाई सहयोग गर्नु भन्दा जसरी भएपनि प्रधानमन्त्री केपी ओलीलाई झुकाउने रणनीतिका साथ अगाडि बढेका हुनाले सरकार सञ्चालनमा समेत अवरोध सिर्जना भएको छ । माधव नेपाल समूहले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग मिलेर सत्ता नपाएका झोँकमा हामी यहाँ सडकमा छौँ भन्थे तर अहिले जनता कोरोना भाइरसको उपचर नपाएर मरिरहेको बेला उनीहरु कहाँ छन् ? सरकारले गरेका हरेक निर्णयको विरोध गर्ने तर आफूहरुले जनताको हितमा सिन्को समेत नभाँच्ने प्रवृत्ति नेपाल समूहमा रहेकाले गर्दा नेपाल समूहसँग जनता रुष्ट हुँदै गएका छन् । सांसदहरुले आ आफ्नो निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकतामा राखेर केही सहयोग गरेको जस्तो देखाएका भएपनि त्यो सहयोग सांसदले गरेको नभई सरकारले गरेको छ । सरकारबाट आफूहरुले लिएर हामीले सहयोग गरेका हौँ भन्नु अर्को बेइमानी हो ।

footer