kumari
stcnepal

आज बिहानै देखी बर्षा भईरहेको छ बुधबार सम्म बर्षा हुने

काठमाडौं ।प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले (बिहान ६ बजे) मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही स्थानमा गए राति देखि नै वर्षा भइरहेको छ । महाशाखाका अनुसार आउँदो बुधबार सम्म्म देशभर हल्का देखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार बेलुका देखि मौसममा क्रमिक सुधार हुने महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

“बुधबार सम्म हल्का देखि मध्यम वर्षा हुने देखिन्छ । केही स्थानमा भारी वर्षा पनि हुने देखिन्छ,” उनले  भने, “झरी प्रकृतिको वर्षा हो । तर, निरन्तर वर्षा हुँदैन । केही समय रोकिने हुन्छ । हिजोआज भएजस्तै वर्षा हुने देखिन्छ ।” महाशाखाले सोमबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आउँदो बुधबार सम्म पानी पर्ने उल्लेख छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, मंगलबार (भोलि) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । भोलि राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।प्रदेश–१, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, बुधबार (पर्सि) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बुधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

 

footer