kumari
stcnepal

देउवालाई विश्वासको मत लिनु फलामको च्युरा चपाउनु सरह

 

माधव नेपाललाई फकाउदै दाहाल सयन्त्रको संयोजक दिने तयारी

काठमाडौ । सर्वोच्च अदालतको सम्वैधानिक इजालसको परमादेश अनुसार नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएपछि पनि नेकपा एमाले भीत्रको आन्तरिक द्वन्द्व समाधान हुन सक्ने कुनै छाँटकाट देखिएको छैन । नेकपा एमालेभित्रको असन्तुष्ट माधव नेपालले अस्ति बुधबार प्रधानमन्त्री देउवालाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् । देउवासँगको छलफलमा नेता नेपालले अब राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्दै प्रतिनिधिसभाको पुरा कार्यकाल भरि सरकार सञ्चालन गर्न आग्रह समेत गर्दै आफ्नो समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने आश्वासन समेत दिएका हुनाले नेकपा एमाले विभाजन हुन सक्ने सम्भावना बढेको छ । नेकपा एमालेका दोस्रो तहका नेताहरुले १० बुँदे एकता प्रस्ताव पार्टी अध्यक्ष केपी ओली र माधव नेपाललाई बुझाएका भएपनि नेता नेपाल भने अहिले पनि आफ्नो समूह पाँच दलीय गठबन्ध मै रहेको बताइरहेका छन् ।
असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवाले श्रावण २७ गते भित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने सम्वैधानिक व्यवस्था रहेको छ । यदि देउवाले विश्वासको मत लिन सफल भएको खण्डमा वर्तमान प्रतिनिधिसभाले आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्न पाउँछ । तर देउवाले विश्वासको मत लिन नसकेको खण्डमा सम्वैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा तेस्रो पटक विघटन हुनेछ । प्रतिनिधिसभा विघटन भएपश्चात् देउवा नै कामचलाऊ सरकारमा परिणात हुनेछ । निकै लामो समयदेखिको राजनीतिक दलहरुको लडाई भनेको को सत्तामा बसेर निर्वाचनमा जाने भन्ने नै हो । अहिले मुलुक कोरोना भाइरसबाट आक्रान्त भएको छ ।

जनताले सहज रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पाइरहेका छैनन् भने बाढी र पहिरोको कारण जनतामाथि अर्को विपत् लाइलागेको छ । त्यसैगरी केपी ओली नेतृत्वको सरकार विरुद्ध गठन गरिएको पाँच दलको गठबन्धनले त्यसबेला उठाएका मुद्दाहरुको सम्बोधन गर्ने दायित्व समेत देउवा सरकार माथि रहेको छ । ओली नेतृत्वको सरकारले थालनी गरेका कार्यहरु पूरा गर्ने जिम्मेवारी समेत देउवा सरकार माथि आएको छ । यी सबै कार्यहरु पूरा गर्नुभन्दा पहिला देउवा सरकारलाई विश्वासको मत कसरी लिने भन्नेले नै सताउने निश्चित छ । देउवा सरकारको पक्षमा पछिल्लो समयमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र पक्षका १२ राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १ सय २३ सांसदको मात्र समर्थन रहेको देखिन्छ ।

माधव पक्षका २३ सांसदले देउवालाई मत दिएको खण्डमा देउवाले विश्वासको मत लिन सक्छन् । माधव पक्ष संसदमा अनुपस्थित भए वा तटस्थ बसेको खण्डमा देउवाले जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिनुपर्ने आवश्यकता देखिन्छ । तर अहिलेकै अवस्थामा महन्थ पक्षले देउवालाई मत दिन सक्ने अवस्था देखिएको छैन । देउवालाई संसदबाट विश्वासको मत लिनको लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ । महन्थ ठाकुर पक्षले समर्थन नगरेको खण्डमा माधव पक्षका घटीमा १३ सांसदले मत दिएमात्र देउवा विश्वासको मत लिन सफल हुनेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जसरी पनि प्रधानमन्त्री देउवालाई संसदको पूरा कार्यकाल भरि टिकाईरहने रणनीतिमा लागेका छन् । भित्री रुपमा भने काग्रेस निर्वाचनकै पक्षमा रहेको छ । त्यही कारणले गर्दा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन कुनै ठोस योजना नबनाउने भएका छन् । कम्युनिष्ट छिन्नभिन्न भएको र पुष्पकमल दाहालको पार्टी समेत छिन्नभिन्न अवस्थामा पुगेकाले गर्दा चाँडो निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुने आंकलन कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

केही समयपछि कम्युनिष्टह मिल्न सक्ने विश्लेषण समेत कांग्रेसका नेताहरुले गरेका हुनाले उनीहरु जति सक्दो चाँडो निर्वाचन होस् भन्ने पक्षमा रहेका भएपनि दाहाल भने निर्वाचनमा जान चाहिरहेका छैनन् । नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वले कस्तो रुप लिन्छ उनीहरु एक हुन्छन् कि विभाजित हुन्छन् भन्ने विश्लेषण गरेर कांग्रेसले आफ्नो रणनीति बनाउने भएको छ । अब संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै हुने र केपी ओली नै संसदीय दलका नेता रहेकाले नेकपा एमाले पनि निर्वाचनकै पक्षमा रहने पक्कापक्की भएको छ ।

अहिलेको अवस्थामा सरकारको समर्थनमा भन्दा विपक्षीमा बहुमत रहेको छ । विपक्षमा नेकपा एमालेका १ सय २१ र जसपाको महन्थ ठाकुर पक्षका २० र राप्रपा १ र मजदुर किसान पार्टीका १ गरी जम्मा १ सय ४३ सांसद रहेका छन् । तर नेकपा एमालेका २३ सांसदले आफ्नै दलका नेताको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गराएर विपक्षीहरुका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र केपी ओलीले संसदबाट विश्वासको मत लिने दिन बैशाख २७ गते संसदमा अनुपस्थित भएका हुनाले माधव नेपाल पक्षले अब के गर्दछ ? भन्ने निर्णय नगरेसम्म राजनीतिक अवस्था कस्तो हुन्छ भन्न सकिने अवस्था छैन । यी सबै कारणहरुले गर्दा अहिले पनि मुलुक संकटकै अवस्थामा रहेको प्रष्ट हुन्छ ।

footer