kumari
stcnepal

जनतालाई के आयो ? नयाँ सरकारले के ल्यायो ?

 

राजन कार्की

सत्ताका गल्ती कमजोरी सुधार्न सुझाव दिनुपर्ने हो, तत्काल सत्ता परिवर्तन गर्न अदालतमार्फत राजनीतिक हतियार प्रयोग गरियो ? किन ? खोई नयाँ के आयो ? नयाँ सरकारले के ल्यायो ? जनताले राहत पाए त ?

ओली सरकारले गलत गरेकोमा के दण्ड दिइयो ? कसकसले दण्ड पाए ? नयाँ सरकार बनेको भोलिपल्टै वालुवाटार जग्गा प्रकरणबाट विजय कुमार गच्छदारलाई १० करोडको बिगोमुद्दामा १० लाख धरौटी राखेर छाडियो । किन ? अब बालुवाटार ललिता निवासको जग्गा प्रकरण सक्कियो ? वाइडबडी काण्डका घोटालाका मुद्दा अब सामसुम भए ।अरू जे सुकै होस्, भूकम्प, कोराना पीडित जनताले राहत स्वरुप के पाए ? लकडाउनका कारणले रोजीरोटी गुमाएकाहरुले राज्यबाट के पाए ? अहिले पनि उपचारमा समानता छैन, अस्पताल महगिएका छन् । रोजगारीको सिर्जना केही छैन । नयाँ सरकारले रोजगारी सिर्जना गर्ने के के खाका सार्वजनिक गरे ?

हिजो ओली निकट व्यक्तिहरु हैकम चलाउँथे, अहिले ५ दलीय मोर्चाका नेता र निकटेहरुको हालीमुहाली सहजै देख्न थालिएको छ । चुरो कुरो परिवर्तन हो, जनताले देख्ने भोग्न पाउने गरी सुशासनका झल्काहरु कहाँ देखिए ?
केही आएन, आउने आशा पनि छैन । सत्ता र शक्तिको प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धामा माधव नेपाल निर्णायक बने, उनले आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न सफलता हासिल गरे । रमाइलो माओवादी केन्द्रलाई भयो । सत्ताको आख चिठ्ठा कांग्रेसलाई प¥यो । जसपा पनि सत्तामा जानेछ, उसले पनि सत्तालाई उखु बनाएर फेरि चुस्न पाउने भयो ।
अर्थात सडकमा भएकाहरू सत्तामा उक्एि, सत्तामा भएकाहरु सडकमा ओर्लिए । यही हो परिवर्तन ? यही हो लोकतन्त्र ? लोकका लागि खुशी बनेर नआउने परिवर्तनलाई लोकतन्त्र भनेर भन्नुपरेको छ ।

संसदमा २७५ सांसद रहने व्यवस्थामा ६१ सिटे नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र सत्ताधारी एमाले तथा जसपाको बिद्रोही खेमाको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भए ।
प्रधानमन्त्री बनेपछि साइत जुराइयो । कालो बोको ढालियो । होम गरियो, महारूद्री लगाइयो । दियो बालियो । गणेश, महादेवको पूजा गरेर आरती उतारेपछि बल्ल प्रधानमन्त्री देउवा प्रधानमन्त्री निवासमा सरे, प्रधानमन्त्रीको पदबहाली गरे । यसपछि ज्योतिषको सुझाव अनुसार ३ गते राति विश्वासको मत लिनसमेत भद्रो हेरियो । पछि खड्गो छ भनेपछि त्यही दिन बसेको संसद बैठकमा तत्काल विश्वासको मत लिने काम भयो ।
सबै भन्छन्– हिन्दुधर्म गयो, धर्मनिरपेक्षता आयो । कहाँ गएको छ हिन्दुधर्म । हाम्रो नेतृत्व त राजनीति होइन, व्यवसाय चलाइरहेका छन् । मुनाफाका लागि धर्मनिरपेक्ष लेखिदिए, व्यवहारमा धर्म मान्छन् । सबैलाई ज्यूँदो हुन्जेल धर्म चाहिने, मरेपछि आर्यघाट नै लानुपर्ने । यस्ता नक्कली धर्मनिरपेक्षवादीहरुले हिन्दुधर्मलाई मुनाफाको विषय बनाइदिए ।
आश्चर्य त के लाग्छ भने ॐकार परिवार पटक्कै चलमलाउँदैन । कोठामा विद्रोह गर्छ र धर्मनिरपेक्षतावादीहरुले गरेको इसाइकरणलाई टुलुटुलु हेरेर बस्छ ।
हो, सत्ता परिवर्तन भयो । कुशासनमा परिवर्तन आएर सुशासन आउँछ कि आउन्न ? यसको कुनै ग्यारेण्टी छैन । किनभने देउवा प्रधानमन्त्री भएको भोलिपल्टै बालुवाटार जग्गा काण्डका अभियुक्त विजय कुमार गच्छदार एकैदिन पेश भएर, उही दिन बहस गरेर उही दिन १० करोडको बिगो दावीमा १० लाख धरौटी बुझाएर रिहा भए । न्याय दिने यो शैली अभियुक्त, अपराधीहरुका लागिमात्र हो, आमनेपाली त न्याय न्याय भनेर बाँच्छन् र मर्छन् । न्याय पाउँदैनन् ।
२०४६ सालदेखि यिनै नेताले राजनीतिक सत्ता चलाइरहेछन् । कुनै परिवर्तन आएन, मात्र भ्रष्टाचार भयो । आजको परिवर्तनमा पनि तिनै पार्टीहरूमा उही पुरानै अनुहार छन्, पुरानै नेतृत्व छ । जहिले पनि यिनै नेताले चलाउने हो भने परिवर्तन कता आयो त ?हो, बुढा भए पनि तिनमा आधुनिक चेत छ, उर्जा छ, हौसला छ, नयाँ सोच छ भने उनीहरूलाई भुत्ते होइन, धारिला नेता भन्नुपर्छ, मान्नुपर्छ । तर बहुदल घोषणापछिका ३१ वर्षमा जुन नेतृत्व देखियो, ती आज पनि छन् र तिनीहरू एकजना पनि स्वाधीनता, देशभक्ति, जनअपेक्षा र लोकतन्त्रका गरिमा र महिमामा खरो उत्रेका नेता छैनन् । प्रत्येक नेतामा कुनै न कुनै भ्रष्टाचारका दाग लागेकै छ ।

नैतिक धरातलमा सग्लो उभिएको नेता पाउन सकिन्न । यसप्रकारका भुत्ते नेताहरूवीच आज पनि अन्तरपार्टी र राष्ट्रिय राजनीतिमा निरन्तर प्रतिस्पर्धा चलिरहेको छ । एकाध युवा निस्कन्छन् र पानीको फोको फुटेजसरी बिलाउँछन् । नेतृत्वमा जान कुनै युवा अग्रसर हुनसक्दैनन् । यहीकारण बुढो पुस्ता जतिसुकै भुत्ते भए पनि पार्टी र सत्ताको मुखिया हुन लालायित नै छन् । यो भुत्ते पुस्तालाई सल्लाहकारमा सिमित राखेर नेतृत्वमा आफू आउन नसक्नु युवा पुस्ताको सबैभन्दा ठूलो कमजोरी हो । यही कमजोरीका कारणले नयाँ नेपालको निर्माण, शान्ति र समृद्धिको सुरूआत तथा जनताप्रति जवाफदेही राजनीतिसमेत सम्भव हुन सकिरहेको छैन ।

देशको मुहार फेर्ने कुरा गरिन्छ । दिमाग र उमेर दुबैकारणले बुढो भइसकेको नेतृत्व बोकेर काम चलाउनेहरूले देशको मुहार कसरी फेर्ने ? एउटा जाँगरिलो, सोच भएको नेता छान्न नसक्नेले देशको मुहार फेर्ने ? विकसित मुलुकहरूमा नेता बुढा हुन् कि युवा, तिनको आधुनिक सोच, सभ्य संस्कार र जवाफदेहीतालाई हेर्ने गरिन्छ । हाम्रो देशमा उही पुरानालाई जहिले पनि बरण गरेर संसद, सत्तामा पु¥याइन्छ अनि ती पुराना नेताहरूले आफ्नै नातापाता, आशेपासे, लोभलालचमा आफू र देशलाई चलाइरहन्छन् । उसै पनि धमिलो पानी, त्यसमा पनि चलाइदिएपछि हिलो हुनु स्वभाविक हो । नेपाली राजनीतिक परिदृश्य हिलो पानीभन्दा पृथक हुनसकेन ।

गिरिजाप्रसादलाई भ्रष्ट भन्याँैं, त्यसपछि फेरिदै फेरिंदै जनआन्दोलनको सफलतासम्म आइपुग्दा पनि उही भ्रष्टाचार गनाइरह्यो । २०६५ साल र पछि पनि प्रचण्ड प्रधानमन्त्री बने । उनले कुनै नयाँपन दिन सकेनन् । अहा भन्ने वातावरण सिर्जना गर्न उनको कारिगरी देखिएन । त्यसपछि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला, केपी ओलीहरू प्रधानमन्त्री बने । सबका सब राष्ट्रघात र भ्रष्टाचारको दलदलमा भासिए । यिनै शेरवहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री बनेका हुन् । यिनमा एकपल्ट पनि उर्जाशीलता, लक्ष्य, उद्देश्य, परिणाममुखी कुनै काम भएको रेकर्ड छैन ।
यसकारण यिनले इतिहास लेख्छन्, लोकतन्त्रको मर्यादा कायम राख्छन् भनेर नसोचौं । यिनीहरु देख्नाका डाल, खानका काल हुन्, यिनीहरु खान आएका हुन्, मजाले खान्छन् । जनता आँसु चुहाएर हेर्ने हो, हेरौं । बसौं । सहौं ।

footer