kumari
stcnepal

उपत्यकामा भोलिबाट राति ८ बजेपछि सवारीसाधन चलाउन निषेध

 

काठमाडौं ।

उपत्यका भित्र भोलिबाट लागू हुने गरी रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मंगलबार निषेधाज्ञा थपको निर्णय गर्दै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहने छ ।

यो अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा घर, मनोरञ्जनका अन्य स्थल र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । पूजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक गतिविधि गर्न पनि रोक गाइएको हो । चोक तथा खुला स्थानमा मान्छे भेला भएर भिडभाड, जुलुस र जात्रा महोत्सव गर्न पनि निषेध कायमै भएको छ ।

विद्यालय, कलेज तथा ट्यूसन सेन्टरमा भौतिक उपस्थितिमा पठनपाठनमा रोक कायमै छ । स्थानीय ढुवानीका साधनलाई बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने नियम छ । संक्रमण दर बढेसँगै प्रहरीलाई निषेध गरिएका क्षेत्रको कार्यान्वयन गर्न कडा निर्देशन दिइएको छ । प्रहरीले ठाउँ ठाउमा आफै पनि माक्स जस्ता सामान लिएर बसेको छ जसअनुसार विभिन्न ठाउँमा आकस्मिक जेकजाँच राखिएको काठमाडौं प्रहरी परिसर, टेकुशाखाले बताएको छ ।

footer