kumari
stcnepal

घिसिङले नयाँ टिम बनाउदै

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालका लागि आफ्नो ‘टिम’ बनाउन सुरु गरेका छन् । नेतृत्व फेरिएसँगै माथिल्लो तहबाट जिम्मेवारी हेरफेर भएको सुरु भएको हो । उनले पहिलो चरणमा केही उपकार्यकारी निर्देशक र निर्देशनालय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्् ।

घिसिङ कार्यकारी निर्देशकबाट विदा भएपछि ‘लोडसेडिङ अन्त्य गर्ने टिमका सदस्यहरुको ब्यापक सरूवा भएको थियो । कार्यकारी निर्देशक भएर पदबहाली गरेकै दिनमा घिसिङले ‘राइट म्यान इन राइट प्लेस’लाई प्राथमिकता दिने बताएका हुन् ।
उनले जीवनकै सबैभन्दा ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोहोरिएको भन्दै कुनै पनि सम्झौता नगर्ने र विगतमा जस्तै राम्रो ‘टिम’ बनाएर काम गर्ने बताएका हुन् । घिसिङको यसअघिको टिमका केही महत्वपूर्ण सदस्यहरुले यसअघि नै अवकास पाइसकेका छन् भने केही अवकासको नजिक छन् । घिसिङले सबैभन्दा महत्वपूर्ण मानिने ग्राहक तथा वितरण सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएका छन् ।

सिलवालले यसअघि घिसिङलाई एडीबीका प्रसारण तथा वितरणका आयोजना हेर्ने ‘आयोजना व्यवस्थापन निर्देशनालय’मा बसेर सघाएका थिए । पछिल्लो समय इन्जिनियरिङ सेवा निर्देशनालयमा रहेका सिलवाललाई घिसिङले यसपटक वितरण प्रणालीको विस्तार र सुधार गर्ने जिम्मा दिएका छन् । ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई उत्पादन निर्देशनालयमा प्रमुखमा जिम्मेवारी दिइएको छ । यसअघि घिसिङको टिममा रहेर लोडसेडिङ अन्त्य गर्न न्यौपानेले ग्राहक तथा वितरण सेवा निदेशनालयबाट महत्वूर्ण भूमिका खेलेका थिए ।

न्यौपानेलाई यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि ग्राहक तथा वितरण सेवा निर्देशनालयमा नै राखेका थिए । न्यौपानेको कार्यकाल अब करिब एक वर्ष मात्रै बाँकी रहेकाले नयाँ व्यक्तिलाई सो जिम्मेवारीमा अभ्यस्त गराउन घिसिङले सिलवाललाई वितरणतर्फ लगेको प्राधिकरण स्रोत बताउँछ । उत्पादन निर्देशनालयका प्रमुख तथा प्रवक्ता मदन तिमल्सिनालाई सहायक कम्पनी अनुगमन निर्देशनालयको निमित्त प्रमुखमा सरूवा गरिएको छ । उनलाई पूर्वकार्यकारी निर्देशक शाक्यले उत्पादन निर्देशनालयको प्रमुखमा रूपमा ल्याएका थिए । निर्देशनालय विगत ३ वर्षदेखिको भूमिकाविहीन रहेकाले तिमल्सिनालाई त्यहाँ नयाँ ढंगले काम थाल्ने चुनौती रहेको छ ।

footer