kumari
stcnepal

वान एक्स बेट प्रकरणः ११ जना विरुद्ध मुद्दा दायर , झण्डै ६५ करोड बिगो दाबी

नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । कुल ११ जनालाई प्रतिवादी बनाएर सट्टेबाजी सम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

मुद्दा दायर गरिएकामा दिनेश खड्का, अनिता धिताल, बेगम नेपाली, रोशन खतिवडा, अलिस राई, राजु पौडेल, मरिचमान श्रेष्ठ, जलन घर्ती मगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेल छन् । प्रतिवादी मध्ये खड्का र धिताल माथि कुल ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँ बिगो कायम गरिएको छ । कलाकार र युट्युबरहरूको हकमा भने विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) अनुसार कसुर गरेकाले सोही ऐनको दफा २५ (२) अनुसार सजाय हुनुपर्ने माग दाबी लिइएको छ ।

दफा ५ (२) (ढ) मा प्रचलित कानून विपरीत विज्ञापन गर्न नहुने उल्लेख छ । त्यस्तो कसुर गरेमा दफा २५ (२) अनुसार १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । खड्का र धितालले वान एक्स बेट सट्टेबाजीमा एजेन्टका रूपमा काम गरेको पाइएको छ भने कलाकार र युट्युबरहरू विज्ञापन गरेको अभियोगमा पक्राउ परेका हुन् । कुशल पोखरेलको हकमा फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

footer