kumari
stcnepal

डिपिए : फराकिलो जितसँगै काठमाडौं प्ले अफमा, रुपन्देही ३३ रनमै अल आउट

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिए)मा तेस्रो जित हात पार्दै गतवर्षको फाइनलिस्ट काठमाडौं गोल्डेन्स एक खेल अगावै प्ले अफमा पुगेको छ । आइतबार भएको दोस्रो खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । यो जितपछि काठमाडौंको ४ खेलमा ७ अंक भएको छ । प्रतियोगितामा अपराजित रहेको काठमाडौंले ३ खेलमा जित हात पारेको थियो भने एक खेल वर्षाले अवरुद्ध भएको थियो । काठमाडौं अब लिगको अन्तिम खेलमा सिवाईसी अत्तरियासँग खेल्ने छ । ३ खेलमा २ जित निकालेको सिवाईसी अत्तरिया तालिकाको दोस्रो स्थानमा छ भने ५ खेलमा ४ अंक जोडेको महेन्द्रगर युनाइटेड तेस्रो र ४ खेलमा ४ अंक नै बनाएको विराटनगर किंग्स चौथो र ४ खेलमा ४ अंक नै जोडेको रुपन्देही पाचौं स्थानमा झरेको छ । पुछारमा रहेको धनगढी स्टार्सको भने १ अंक छ । टस जितेर पहिला ब्याटिङ गर्दै काठमाडौंले ७ विकेट गुमाउँदै १३३ रन बनायो । १३४ रनको लक्ष्य पछ्याएको रुपन्देही भने १५.१ ओभरमा ३३ रनमै अलआउट भयो । यो नेपाली फ्रेन्चाइज लिगकै सबैभन्दा कम योगफल हो । यस्तै काठमाडौंको यो जित डिपिएलको सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो । रुपन्देहीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । उसका लागि सुमित महर्जनले सर्वाधिक ५ रन बनाए भने प्रदीप ऐरीले ४ र सन्दीप सुनार, बाबर हायत र बिक्रम सोबले ३ रन मात्र बनाउन सके । रुपन्देहीका ब्याट्सम्यानलाई निरीह बनाउने क्रममा नन्दन यादवले ३, ललित राजवंशी र सूर्य तामाङले समान २ विकेट लिए । यस्तै, योगेन्द्रसिंह कार्की र अंकित दबासले १–१ विकेट लिए । निकै कसिलो बलिङ गरेका नन्दनले ३.१ ओभरमा ५ रनमात्र खर्चिए । यस्तै ललितले २ ओभरमा ४ रन खर्चिए भने सूर्यले ३ ओभरमा ६ रन खर्चिए । दबासले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिए । यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका लागि अंकित दबासले सर्वाधिक ४३ रन बनाए । उनले ४० बलमा १ चौका र ३ छक्का प्रहार गरे । यस्तै, अनिलकुमार साहले २३, रसिद खाले ५ बलमा १४ रन, योगेन्द्रसिंह कार्कीले १३, कप्तान ज्ञानेन्द्र मल्ले १२ र महबुब आलमले ११ रनको योगदान दिए । रुपन्देहीका विक्रम सोब, पुनित मेहरा र अनिल खरेलले समान २ विकेट लिए ।

सबैखेल डटकमबाट

footer