डिपिए : फराकिलो जितसँगै काठमाडौं प्ले अफमा, रुपन्देही ३३ रनमै अल आउट
वि.सं.२०७५ फागुन ५ आइतवार १२:१७
shares

टस जितेर पहिला ब्याटिङ गर्दै काठमाडौंले ७ विकेट गुमाउँदै १३३ रन बनायो । १३४ रनको लक्ष्य पछ्याएको रुपन्देही भने १५.१ ओभरमा ३३ रनमै अलआउट भयो । यो नेपाली फ्रेन्चाइज लिगकै सबैभन्दा कम योगफल हो । यस्तै काठमाडौंको यो जित डिपिएलको सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो ।
रुपन्देहीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । उसका लागि सुमित महर्जनले सर्वाधिक ५ रन बनाए भने प्रदीप ऐरीले ४ र सन्दीप सुनार, बाबर हायत र बिक्रम सोबले ३ रन मात्र बनाउन सके ।
रुपन्देहीका ब्याट्सम्यानलाई निरीह बनाउने क्रममा नन्दन यादवले ३, ललित राजवंशी र सूर्य तामाङले समान २ विकेट लिए । यस्तै, योगेन्द्रसिंह कार्की र अंकित दबासले १–१ विकेट लिए ।
निकै कसिलो बलिङ गरेका नन्दनले ३.१ ओभरमा ५ रनमात्र खर्चिए । यस्तै ललितले २ ओभरमा ४ रन खर्चिए भने सूर्यले ३ ओभरमा ६ रन खर्चिए । दबासले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिए ।
यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका लागि अंकित दबासले सर्वाधिक ४३ रन बनाए । उनले ४० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, अनिलकुमार साहले २३, रसिद खाले ५ बलमा १४ रन, योगेन्द्रसिंह कार्कीले १३, कप्तान ज्ञानेन्द्र मल्ले १२ र महबुब आलमले ११ रनको योगदान दिए । रुपन्देहीका विक्रम सोब, पुनित मेहरा र अनिल खरेलले समान २ विकेट लिए ।



































