kumari
stcnepal

आज ५८० वर्षयताकै सबैभन्दा लामो चन्द्रग्रहण

 

काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

आज ५८० वर्षयताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण समेत हो ।
यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ। चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत क्षेत्र ढाकिनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब ८ फेब्रुअरी २६६९ मा मात्रै लामो चन्द्रग्रहण लाग्नेछ ।
एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए। यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ।

footer