kumari
stcnepal

जिवि राई बिरूद्ध इन्टरपोलले जारी गर्यो डिफ्युज नोटिस

काठमाडौं। सहकारी ठगीमा फरार रहेका आरोपी जीबी राई विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राई विरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जीबीविरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गर्नुभयो । ‘नोटिस जारी भएर आएको छ । योसँगै नोटिस जारी भएका व्यक्ति इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा समेटिएका छन,’ थापाले भन्नुभयो । राईसहित सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र हालका अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध नोटिस जारी गर्न अनुरोध गरेकोमा उनीहरुको हकमा निर्णय भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा जीबी, भूपेन्द्र र थानबहादुर बुढाविरुद्ध नोटिस जारी गर्न पत्र पठाएको थियो । राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाका मुख्य अभियुक्त नै फरार हुँदा बचतकर्ताको रकम कसरी असुल हुने भन्नेमा अन्योल छ ।

स्रोतका अनुसार फरार २०८० असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका वर्तमान र पूर्वपदाधिकारीरसञ्चालक तथा कर्मचारीसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनेका थिए । प्रहरीले रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा कास्की अदालतबाट साउन ४, असोज २ र असोज ७ मा पक्राउ अनुमति लिएको थियो । अदालतबाट अनुमति पाएका बखत आरोपितहरू काठमाडौंलगायत जिल्लामा लुकेर बसेको र पक्राउ गरी बुझाइदिन कास्की प्रहरीले कात्तिक १० मा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदा अभियुक्तहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा लुकेर बसेको आशंका थियो । तर, कुमार रम्तेलबाहेक कोही पनि आरोपित पक्राउ परेका थिएनन् । पछिल्लो समय प्रहरीले खोजीलाई तिब्र बनाएपछि थप२ जना पक्राउ परेकामा अझै १६ जना फरार छन् ।

फरार जिवी राईले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग मिलेर टेलिभिजन सञ्चालन गरेका थिए । टेलिभिजन सञ्चालनकै क्रममा उनको समुहले सहकारीबाट करोडौं रकम लिएको थियो ।

footer