kumari
stcnepal

नेपाल बारले भोलि राजनीतिक दललाई ज्ञापनपत्र बुझाउँदै

 

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियशनले भोलि (सोमबार) राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने भएको छ ।

बारले नियमित कार्यक्रमअन्तर्गत सोमबार राजनीतिक दललाई ज्ञापनपत्र बुझाउन लागेको हो। संसदमा आबद्ध दलहरुलाई सोमबार ज्ञापनपत्र बुझाउन लागेको बारका उपाध्यक्ष रक्षा बस्यालले बताइन् । ‘प्रधानन्यायाधीशको राजीनामा किन ? न्यायपालिकाको शुद्धीकरणका लागि के गर्न सकिन्छ भन्ने विषय ज्ञापन पत्रमा समेटिने छ । हामी भोलि नै ज्ञापनपत्र बुझाउँछौं,’ उनले भनिन् ।

यसअघि आज बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहस पैरवी भएन । बारका महाचिव लीलामणि पौडेलका अनुसार सोमबार १० देखि १२ बजेसम्म देशभरिका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गरिने छ ।

हामीले संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छौं,’ पौडेलले भने ।
मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्याद बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारले निर्णय गरेको छ । बुधबार १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने बारको तयारी छ। ती कार्यक्रममा नेपाल बारका केन्द्रीय प्रतिनिधि पर्यवेक्षक रहने छन् ।

बुधबार ती उच्च अदालतमा बहस पैरवी नगर्ने बारले जनाएको छ। त्यस्तै मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाईका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रीत विरोध कार्यक्रम गर्ने बारको योजना छ ।

त्यस्तै बारले मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । अधिवक्ता हरि पराजुलीले प्रधानन्यायाधीश जबराले संवैधानिक परिषद् र कार्यपालिकामा भागबण्डा खोजेको भन्दै राजीनामाको विकल्प नरहेको बताए ।

 

footer