kumari
stcnepal

चार दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत भएका थिए । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गर्ने क्यानले जनाएको छ । यसका अतिरिक्त आईसीसी अध्यक्षले नेपाल भ्रमणका क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीसँग पनि नेपालमा क्रिकेट विकासको विषयमा केन्द्रित रहेर छलफल गर्ने कार्यतालिका रहेको छ ।

आईसीसी अध्यक्ष ग्रेगले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानको निरीक्षण पनि गर्नेछन् । नेपाल भ्रमणका क्रममा उनलाई माउण्टेन फ्लाइट गराउने तयारी पनि क्यानले गरेको छ । अध्यक्ष ग्रेग आफ्नो चार दिने नेपाल भ्रमण पुरा गरी बिहीबार बिहान काठमाडौँबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भारतमा शुक्रबारदेखि सुरु हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन समारोहमा सहभागी भएर उनी आफ्नो देश फिर्ता हुनेछन् ।

नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको सफलतापछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेको छ । यस्तो अवस्थामा भएको आईसीसी अध्यक्ष ग्रेगको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘नेपाली क्रिकेटको विषयमा यसअघि पनि धेरै सुनेको थिएँ । आज आफ्नै आँखाले हेर्ने अवसर पनि जुरेको छ,’ उनले भनेका छन् । उनले नेपाली क्रिकेट समर्थकको प्रशंसा पनि गरेका छन् । उनले समर्थकहरु नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति भएको पनि बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता राख्न सुझाव दिए ।

footer