kumari
stcnepal

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पुन मगर विजयी

बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् ।

पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए ।

निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ) विजयी भएका छन् । संस्थापन इतरका रुपन्देहीका अष्टभुजा पाठक र संस्थापनका सुधाकर पाण्डे कपिलवस्तु पराजित भए ।

यस्तै महामन्त्रीमा विक्रम खनाल नवलपरासी पश्चिम र सुरेन्द्रराज आचार्य कपिलवस्तु विजयी भएका निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भए । गत शनिबार भएको मतदानको परिणाम आउन दुई दिन लागेको हो ।

footer