काठमाडौं । लामो समयदेखि बन्न नसकेको राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा)को गठन भएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार समिति गठन गरेका हुन् । यस एजेन्सीले खेल क्षेत्रमा प्रतिबन्धित लागुऔषधिको प्रयोगलाई नियमन गर्ने र यस संस्थाले अन्तर्राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको सिद्धान्तलाई प्राथमिकतामा राख्दै काम गर्ने गर्दछ ।
हाल यस समितिको संयोजकमा डा. अशिम भण्डारी छन् । उनलाई यसअघिको मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । रिक्त रहेको समिति सदस्यहरुमा नेपाल मेडिकल काउन्सिलको सिफारिसमा डा. विश्वराज दवाडी सदस्य छन् । कानुन क्षेत्रको विज्ञ सदस्यमा अधिवक्ता वीरेन्द्र पाठक र खेल क्षेत्रको सदस्यमा पूर्वराष्ट्रीय खेलाडी विपिनराज वैद्यलाई नियुक्त गरेको हो । राखेपले एकजना एन्टी डोपिङसम्बन्धी जानकार डाक्टर अझै सिफारिस नगरेकाले उक्त स्थान अझै खाली नै छ ।
साउथ एसियन रजनिएल एन्टी डोपिङका बोर्ड सदस्य तथा नेपाल प्रतिनिधि डा ज्ञानेन्द्र शाहका अनुसार नेपाल सन् २०१० सालदेखि नै विश्व एन्टी डोपिङ एजेन्सीको (वाडा) पक्ष राष्ट्र भएको थियो । नेपालले बर्सेनि वाडालाई ५ हजार डलर शुल्क बुझाउँदै आएको भए पनि नेपालमा समिति गठन हुन सकेको थिएन ।लामो समयदेखि स्वर्गीय डा सरोज कृष्ण श्रेष्ठ, पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानका डा नविशमान सिंह प्रधान, डा सुशन वैद्य, डा अजय राणाहरुको लामो प्रयासपछि नेपाल सरकारले नाडाको गठन गर्न नियमावली र कार्यविधि तयार पारेको थियो ।
नाडा समिति बन्नुलाई डा शाहले खेल क्षेत्रमा खेलकुदमन्त्रीले नयाँ आशा दिएको बताए । समिति गठनसँगै मन्त्री श्रेष्ठले समितिलाई नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न नाडाको महत्वपूर्ण भूमिका हुने बताए ।