kumari
stcnepal

एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो ।

त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेस सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले दसौँ महाधिवेशनमा पेश हुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको छ ।

एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैबिच महाधिवेशन तयारी समिति सचिवालयको प्रथम बैठक पनि बिहीबार नै बसेको छ । बैठकले खाद्य,आवास प्रचार, लगायत व्यवस्थापनका पक्षमा योजना निर्माणबारे छलफल गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने सो पार्टीले जनाएको छ ।

footer