kumari
stcnepal

प्रहरी जवान अजितले प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको प्रहरीको प्रारंभिक भनाई

काठमाडौं । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जवान अजित गोलेको आत्महत्या प्रेमिकासँग जोडिएको पाइएको प्रहरी स्रोतको भनाइ छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ । घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा अजितको मोबाइल फोनसमेत बरामद भएको थियो । घटनास्थलमा भेटिएको मोबाइलबाट अजितले आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिएको छ ।

उनले प्रेमिकासँग करिब ५ महिनाअघि इन्गेजमन्ट गरेको समेत खुलेको छ । इन्गेजमेन्टपछि अजितले नै आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । अहिले पनि उनकी प्रेमिका दुबईमै रहेको खुलेको छ । दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको मोबाइलको म्यासेजमा भेटिएको छ । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको ती अनुसन्धान अधिकृतले बताए । उनका अनुसार बुधबार बिहान पनि आत्महत्या गर्नुअघि ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल समेत गरेको देखिएको छ । ‘भिडिओ कल र घटना एकै समयमा भएको पाइएको छ ।

प्रहरीका अनुसार अजितले आफैंले बोकेको इन्सास राइफलबाट १ राउण्ड गोली हानेको पाइएको छ । उनी आज बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटीमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका उनलाई गत २८ जेठदेखि संसद भवनमा खटाइएको थियो ।

footer