kumari
stcnepal

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, परिसूचक ११३ अंकले बढ्यो

काठमाडौँ । मौद्रिक नीतिको प्रभाव सेयर बजारमा स्पष्ट रूपमा देखिएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार अन्तिमसम्ममा ११३.४२ अङ्क बढेर बन्द भएको हो ।

आज कारोबार सुरु भए लगत्तै नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटमा बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भयो । ५ प्रतिशतले बढेपछि दोस्रो पटक बन्द भएको नेप्से त्यसपछि भने निरन्तर घट्ने प्रयास गर्‍यो । यद्यपि पुनः नेप्से सम्हालिँदै समग्रमा ४.४१ प्रतिशतले बजार बढेर बन्द भएको हो । यसक्रममा आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । यस्तै ८७ वटा कम्पनीको मूल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ ।

यस्तै थप १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि एनआईसी एसिया बैंकको सेयर ३४ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ ।परिसूचक ४.४१ प्रतिशतले बढ्दै १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको दिन लघुवित्त समूहको सूचक भने घटेको छ । यो समूहको सूचक १० अङ्कले घटेको हो । यस्तै आज ४ करोड ३ लाख कित्ता सेयर किनबेच भएको छ । यसैगरी कारोबार भएकामध्ये १२ वटा समूहको वृद्धि देखिएको छ ।

जीवन बिमा समूहमा ५१९ अङ्कको वृद्धि आउँदा निर्जीवन बिमा समूहको सूचक ३४५ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूह २४५ अङ्कले बढेको छ भने बैंक समूह १४१ अङ्कले बढेको छ । यसबाहेक सबैजसो समूहमा समेत वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकले लिएको १५–२० को नीतिका कारण बजार बढ्न नसकेको लगानीकर्ताको भनाई थियो । तर, शुक्रबार को मौद्रिक नीतिसँगै यो भनाइ अब हटेको छ । केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको सीमा हटेको छ ।

व्यक्तिगततर्फको १५ करोडको सीमा रहे पनि यसले बजारमा तात्त्विक भिन्नता नल्याउने लगानीकर्ताको भनाइ छ । मौद्रिक नीतिको प्रभाव स्वरूप नै आज नेप्से परिसूचक उच्च अङ्कले बढेको हो । यससँगै नेप्से परिसूचक २६८१‍.४२ अङ्कको बिन्दुमा पुगेको छ ।

footer