kumari
stcnepal

काठमाडौंमा नै भेटिए हैजाका ३ जना बिरामी

काठमाडौंमा तीन जना हैजाका बिरामी भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । ‘तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छौं,’ डा. सापकोटाले भने ।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा. सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए । केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो । ​ चिकित्सकका अनुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ ।

सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्दछ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।

footer