kumari
stcnepal

पेरिस ओलम्पिक: महिला म्याराथनमा सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहेर दौड पूरा गरेकी छन् ।

पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् । राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेपनि सन्तोषी त्यसमा सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् । दश दिनअघि नै पेरिस पुगेर त्यहाँको वातावरणमा घुलमिल भएकी सन्तोषीले म्याराथन कोर्स कठिन भएपनि म्याराथन दौड भने पूरा गरिन् । यस इभेन्टमा ११ खेलाडीले म्याराथन बीचमै त्यागेका थिए ।

नेदरल्याण्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्याराथनमा स्वर्ण जितिन् । यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा इथियोपियाकी टिकी गेलनाले २ घण्टा २३ मिनेट ०७ सेकेण्डको कीर्तिमान राखेकी थिइन् । हसनले पेरिस ओलम्पिकमा तीन इभेन्टमा प्रतिस्पर्धा गर्दा तीनवटैमा पदक जितिन् भने म्याराथनमा स्वर्ण जितेकी हुन् । उनले यसअघि महिला ५ हजार र १० हजार मिटरमा कांस्य जितेकी थिइन् ।इथियोपियाकी टिग्स्ट हसफाले २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् भने केन्याकी हेलेन ओबिरीले २ घण्टा २३ मिनेट १० सेकेण्ड समय निकाल्दै कांस्य जितिन् ।

महिला म्याराथनमा विश्व कीर्तिमान भने केन्याकी पेरेस जेपचिरचिरको नाममा छ । उनले सन् २०२४ अप्रिलमा २ घण्टा १६ मिनेट १६ सेकेण्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान बनाएकी थिइन् ।

footer