kumari
stcnepal

पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश काठमाडौंमा पढेर सुनाइयो

पाकिस्तानले ७८ औं स्वतन्त्रता दिवस मनाएको छ । सो क्रममा हिजो बिहान काठमाडौंस्थित पाकिस्तानी दूतावास परिसरमा झण्डोत्तलन गरिएको थियो ।सो अवसरमा पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी, प्रधानमन्त्री मोहम्मद शेहवाज शरिफ र उपप्रधानमन्त्री मोहम्मद इशाक दर र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

हिजै साँझ काठमाडौंमा दूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले संयुक्त रुपमा स्वागत समारोहको आयोजना गरेको थियो । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उपसभामुख इन्दिरा रानामगर, भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादवको उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्रार एच हाश्मीले नेपालले पाकिस्तानप्रति जनाएको निरन्तर समर्थन र मैत्रीपूर्ण व्यवहारको प्रशंसा गर्नुभएको छ । पछिल्लो समय दुई मुलुकबीच कसिलो हुँदै गएको जनस्तरको सम्बन्धबारे पनि उहाँले प्रकाश पार्नुभएको थियो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मञ्जुरत्न शाक्यले दुई मुलुकबीचको सम्बन्धबारे चर्चा गरेका थिए । कार्यक्रममा भूतपूर्व उपप्रधानमन्त्री सीपी मैनाली, भूतपूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सांसद, विभिन्न मुलुकका राजदूत, डिफेन्स अट्याची, संयुक्त राष्ट्र संघ तथा सार्कका कुटनीतिज्ञहरु, राजनीतिक दलका नेता, सरकारी अधिकारीहरु, व्यवसायी, पत्रकार र पाकिस्तानी समुदायको बाक्लो उपस्थिति थियो ।

footer