kumari
stcnepal

वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाए

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।

२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् । १२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झरेको छ ।

साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.४१ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारिनु, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिनुले भदौमा बैंकहरुलाई ब्याजदर घटाउन बल पुग्यो ।

footer