kumari
stcnepal

सहकारी ठगी प्रकरण छानबीन समितिले रवि लामिछानेसँग ७ गते बयान लिने

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । समितिले भदौ ७ गते उनको बयान लिने तयारी गरेको हो ।

पूर्वगृहमन्त्री समेत रहेका सांसद रविसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको छ ।यस्तै कुमार रम्तेल‚रोशनी गुरुङ लगायतको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने समितिको तयारी रहेको छ । समितिले गोरखा मिडिया अन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको छ ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । लामिछानेकै भनाइअनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।

footer