kumari
stcnepal

अत्तरखेलको सहकारीले पैसा फिर्ता नदिएपछि पीडितले गरे आत्महत्या

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलका सहकारीपीडित आमोद चतुर्वेदी मृत भेटिएका छन्।

मोरङको विराटनगरका चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। चतुर्वेदी अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन्। बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए। उनले त्यहीँ रहेको कान्तिभैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ। चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्तिभैरवपीडित संघर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए।

“उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए। उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए,” उनले भने।चतुर्वेदीले उक्त सहकारीमा २५ लाख रुपैयाँ बचत गरेको र त्यो रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको संघर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएको विष्टले बताए।

footer