kumari
stcnepal

साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाउने निर्णय भएको जानकारी दिए । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

तर, ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए । ढकालले रास्वपालाई दिएको जवाफ स्पष्टीकरण नभई व्यक्तिगत कुण्ठा व्यक्त गरिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो । २५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

footer