kumari
stcnepal

जापानले नेपाललाई ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

जापान सरकारले नेपाललाई ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अनुदान दिने भएको छ । जापानले मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो ।

अनुदानका लागि नेपालकातर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापानकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान-प्रदान पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

सन् २०१६ देखि उपलब्ध हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसपूर्व १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । नयाँ सम्झौताले थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने जनाइएको छ । छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास अर्थ मन्त्रालयका सचिव डा घिमिरेले व्यक्त गरे । नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुर्याउने उनको भनाइ छ ।

छात्रवृत्ति अनुदानले दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने राजदूत युताकाले बताए ।

footer