kumari
stcnepal

वरिष्ठ नेता पौडेल र सिटौला केन्द्रीय सदस्यमा मनोनीत

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई शनिबार प्रमाणपत्र वितरण गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार बिहान ११ बजेदेखि नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिने भएको हो ।
समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय कार्यसमितिका सभापति, पदाधीकारी तथा केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको शनिबार प्रमाणपत्र वितरण गरिने भएको हो ।
“निर्वाचित सबैलाई भोली हामी ११ बजेदेखि प्रमाणपत्र वितरण गछौं,” उनले भने । पहिलो बैठकमा राष्ट्रिय सभा निर्वाचन सम्बन्धी छलफल नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबारनै बस्ने भएको छ । पार्टी सहमहामन्त्री (दलित) जीवन परियारका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्नेछ ।
पार्टी मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठकमा विभिन्न एजेण्डामाथि छलफल गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् । जसमध्ये पहिलो एजेण्डा धन्यवाद ज्ञापन रहेको छ । यस्तै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन हारेका शिर्ष नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनय गर्ने तयारी भइरहेको छ ।
पार्टी सभापतिमा पराजित डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा निर्वाचन प्रकृयामा भाग नलिएका रामचन्द्र पौडेललाई पनि पहिलो बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गर्ने देउवाको तयारी छ । यस्तै अधिवेशनमा आफूलाई सहयोग गरेका कृष्णप्रसाद सिटौलालाई पनि केन्द्रीय सदस्यमा शनिबारको बैठकले मनोनित गर्ने बताइएको छ ।
यसबाहेक पहिलो बैठकमा राष्ट्रिय सभा निर्वाचन सम्बन्धी छलफल गर्ने देउवाको तयारी छ । विशेषगरेर सत्तागठबन्धन भित्र आफूहरु कति भाग लिएर अघि बढ्ने भन्ने विषयमा देउवाले केन्द्रीय कार्यसमितिको राय वुझ्ने तयारी गरेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।
“पहिलो बैठक हो, विषयहरु पनि खुलाइएको छैन । तर, केन्द्रीय नेताहरुको मनोनयदेखि राष्ट्रिय सभा निर्वाचन पनि छलफलको विषय बन्ने देखिन्छ,” मुख्यसचिव पौडेलले भने ।
मंसिर २४ बाट सुरु भएको पार्टीको १४ औं महाधिवेशनबाट १ सय ३४ जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचित भएका थिए । जसमा १३ जना पदाधीकारीहरु रहेका छन् । १४ पदाधीकारी मध्ये कोषाध्यक्ष पदमा भने सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई मनोनित गर्न पाउने विधानको व्यवस्था छ । यस्तै विधानी व्यवस्था अनुसार थप ३३ जनालाई सभापतिले मनोनित गर्न पाउने पनि विधानले अधिकार दिएको छ ।
१४ औं महाधिवेशनबाट पार्टीको ४ वर्षे कार्यकालका लागि सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा पुर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन् । कांग्रेसको विधान अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्ने व्यवस्था छ ।

footer