kumari
stcnepal

राष्ट्रिय सभा निर्वाचनको सदस्यमा २ पदका लागि ६ जनाको उम्मेदवारी

हेटौंडा  । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । फागुनबाट बागमती प्रदेशमा रिक्त हुन लागेको २ जना राष्ट्रियसभा सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आज सत्तारुढ गठबन्धन दलबाट २, नेकपा एमालेबाट २ र नेपाल मजदुर किसान पार्टीबाट २ जनाले मनोनयन दर्ता गराएको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीबाट उमादेवी तिमल्सिनाको उम्मेदवारी परेको छ । त्यसैगरी नेकपा एमालेबाट निरकुमारी दर्लामी कुँवर र गोपाल शाक्यको उम्मेदवारी परेको छ भने नेमकिपाबाट गीता काफ्ले र कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

फागुनबाट रिक्त हुन लागेको एक महिला र एक अन्य पदका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । यसमा गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रियसभा सदस्य उजया शर्मा पौडेल र राधेश्याम अधिकारीको रिक्त हुन लागेको पदमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा कुल ३ सय मतदाता छन् । बागमती प्रदेशको प्रदेशसभाका कुल १ सय १० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १ सय ९ जना सदस्य मात्र मतदाता छन्।

त्यसैगरि प्रदेशको १ सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २ सय ३८ जनामध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २ सय ३७ जनामात्र मतदाता रहेका छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मत भार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १ सय ९ जना प्रदेशसभा सदस्यको ५ हजार २ सय ३२ मत भार रहेको छ भने स्थानीय तहका २ सय ३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २ सय ६६ मत भार रहेको छ ।जसअनुसार बागमती प्रदेशमा कुल ३ सय ४६ जना मतदाताको ९ हजार ४ सय ९८ मत भार गणना हुनेछ ।

footer