kumari
stcnepal

युभेन्टस पराजित

लिगका ६ खेल बाँकी छँदै उपाधि उचालिसकेको इटालियन जाइन्ट्स युभेन्टस पराजित भएको छ । आइतबार राति भएको सिरि एको अन्तिम खेलमा च्याम्पियन युभेन्टस एएस रोमासँग २–० ले पराजित भएको हो ।

हारका बाबजुद युभेन्टसले शीर्ष स्थानमा १३ अंकको अग्रता कायम गरेको छ । उसको ३६ खेलमा ८९ अंक छ भने दोस्रो स्थानमा रहेको नेपोलीको ७६ अंक छ ।

यता, रोमाले भने युभेटन्सलाई पराजित गर्दै च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । उ ६२ अंकका साथ छैठौं स्थानमा छ । लिगका २ खेल बाँकी छँदा रोमा तेस्रो स्थानको एट्लान्टाभन्दा ३ अंकले मात्र पछि छ ।

घरेलु मैदानमा रोमालाई जित दिलाउन एलसान्ड्रो फ्लोरेन्जी र इडेन डेजोकले १–१ गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा भने रोमाले २ गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । घरेलु मैदानमा फ्लोरेन्जीले ७९औं मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाए । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा डेजोकले गोल गरेपछि रोमा विजयी भयो ।

बल आफ्नो नियन्त्रणमा राखेर पनि युभेन्ट्सले रोमाको पोस्टमा उल्लेख्य आक्रमण गर्न सकेन । खेलमा युभेन्टसले ६४ प्रतिशत बल पोजेशन बनाएको थियो । तर, आक्रमण भने रोमाले बढी गरेको थियो । रोमाले १३ सट प्रहार गरेको थियो, जसमध्ये ३ सट फ्रेममा थियो । युभेन्टसले भने ७ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

footer