kumari
stcnepal

एमसीसीको विरोधमा प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

नयाँ बानेश्वर स्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा  सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नयाँबानेश्वर तर्फ जाने–आउने सवारी साधनलाई गैरीगाउँ, तिनकुने, पुरानो बानेश्वर, माइतिघर, न्युप्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ । डाइभर्सनका कारण उपत्यकाको माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा सवारी साधन क्यूमा चलिरहेका छन् । क्यू रहेको स्थानमा सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको महाशाखाले जनाएको छ ।

 

footer