kumari
stcnepal

चमेरो रुखमा झुण्डिए झैँ झुण्डियो समाजवादी पार्टी

काठमाडौ । संविधान जारी भएको आजको दिन अर्थात असोज ३ गतेलाई सरकारले घर घरमा दिपावली गर्न सबैलाई आह्वान गरेको छ । तर त्यही संविधानलाई स्वीकार गरी सरकारमा रहेको समाजवादी पार्टीले भने संविधान दिवसलाई नत स्वीकार गर्ने, नत विरोध नै गर्ने चमेरो रणनीति लिएको छ । समाजवादी पार्टीका अध्यक्ष नै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन् भने उनको पार्टीबाट उपप्रधानमन्त्री सहित एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । उनीहरुले सरकारी सेवा सुविधामै रहेर संविधान दिवसका दिन चमेरो नीति लिएको हुनाले त्यसको सर्वत्र आलोचना भएको छ । यदि संविधान प्रति विरोध भए सरकार छोड्नुपर्दछ यदि होइन भने त्यही संविधान अनुसार मन्त्री पदमा रहेर चमेरो नीति लिनु किमार्थ उचित हुन सक्दैन ।

चमेरो न पक्षीं हो, न पशु नै हो । ऊ स्तनधारी जनावरपनि होइन तर उसको स्तन हुन्छ, तर उ उड्न सक्छ, त्यसैले उसले आफ्नो स्वार्थ अनुसार पंक्षीको बथानमा पुगेर आफू पंक्षी भएको भन्दै उड्न सक्छु भन्दछ भने स्तनधारी पशुमा गएर आफू स्तनधारी भएकाले आफूसँग स्तन रहेको बताउँदै हिँड्छ । त्यही कारण उसलाई न पंक्षीले पत्याउँछन् न त स्तनधारी पशुले नै त्यसै कारण ऊ रुखमा झुण्डिएर बस्दछ । अहिले समाजवादी पार्टीको हालत पनि त्यस्तै भएको छ । सत्तापक्षमा बसेर सुख सुविधा लिने मन्त्री बन्ने तर संविधानलाई स्वीकार नगर्ने । अनि जनतामा गएर संविधानको विरोध गर्ने ? समाजादी पार्टीको यो सिद्धान्तलाई न त सत्तापक्षले स्वीकार गर्न सकेको छ न त जनताले नै आँखिरी ऊ समेत अहिले रुखमा झुण्डिएको चमेराकै हालतमा पुगेको छ ।

समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सरकार छोड्न दबाव दिएपछि सरकारी सुख सुविधामै रमाउँदै यादव सरकार छोड्न तयार देखिएका छैनन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका र संविधान संशोधनको माग गरिरहेका छन् । संविधान संशोधनमा सरकारले कुनै कदम अगाडि नबढाएको भन्दै राजपाले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने उसले संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । तर समाजवादी पार्टीले भने दुवै खाले कार्यक्रममा सहभागि नभई संविधान संशोधनको आवश्यकता बारे सातै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

गतवर्ष पनि संविधान दिवसको दिन सरकारमै रहेर पनि संविधान दिवसका कार्यक्रममा यादव सहित उनको पार्टी सहभागि भएको थिएन । यस पटक अध्यक्ष यादव संविधान दिवस छल्नका लागि अमेरिका गएका छन् । उनी असोज १४ गतेमात्र नेपाल फर्किने भएका छन् । यसरी सत्तामै रहेर संविधानको बर्खिलाप गर्ने व्यक्तिलाई न त प्रधानमन्त्रीले बर्खास्त गर्न सकेका छन् न त उनको पार्टीले नै फिर्ता बोलाउन सकेको छ । यी सबै कारणहरुले गर्दा समाजवादी पार्टी चमेरो रुखमा झुण्डिएजस्तै दुवैतिर झुण्डिएको छ भन्नुमा कुनै आपत्ति नहोला । उनैको पार्टीको नेता प्रदेश नं. २ को मुख्यमन्त्री रहेका छन् । प्रदेश नं. २ को सरकारले भने संविधान दिवस मनाउने निर्णय गरेको भएपनि राजपाबाट मन्त्री भएकाले बहिष्कार गर्ने भएका छन् ।

footer