धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोकेको छ । उच्च अदालत विराटनगरमा रहेको मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलासमा सुनुवाइ पछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलासमा पेस गर्नु’ भन्ने आदेश गरेका छन्।
न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको थुनछेक आदेशलाई बदर गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । तर जिल्ला अदालत बाट सफाइ पाई उक्त मुद्दा सरकारवादी पुनरावेदनको रूपमा उच्च अदालतमा आएपछि न्यायाधीश श्रेष्ठले ‘हेर्न नमिल्ने’ मा परेको हो । पहिले नै सिद्धबाबा विपक्षी रहेको थुनछेक आदेश गर्ने न्यायाधीशले पुनरावेदनको रोहमा रहेको मुद्दा हेर्न नमिल्ने भन्दै विपक्षीका कानुन व्यवसायीले स्थगनको माग गरे पनि बुधबार सुनुवाइमा गएको थियो । यद्यपि मुख्य न्यायाधीश श्रेष्ठले आफू रहितको इजलासमा पेस गर्नु भन्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार ओमराज सुवेदीले बताए ।
सुवेदीका अनुसार सिद्धबाबा प्रकरणमा अब उच्च अदालत विराटनगरमा रहेका १० मध्ये ५ जना न्यायाधीशले सो मुद्दा हेर्न नमिल्ने भएको छ । सोही मुद्दामा न्यायाधीश प्रेमराज ढकाल र रेणुका साहले नेपाल सरकारले गरेको पुनरावेदनमा दुवै पक्षका झगडिया झिकाउने आदेश दिएका थिए । साह सरुवा भए पनि ढकाल उच्च अदालतमै रहेका छन् । यस्तै न्यायाधीश राजन प्रसाद भट्टराई प्रतिवादीका तर्फ बाट बहस गर्ने वरिष्ठ अधिवक्ता रमेश कोइरालाका नातेदार हुन् । उनले पनि सो मुद्दा हेर्न नमिल्ने भएको छ । यस्तै न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले पनि सोही मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए ।
उक्त मुद्दा हेर्न मिल्ने न्यायाधीशहरू अब ५ जना मात्रै भएको कारण चैत १५ गतेको सुनुवाइ पनि नहुने देखिएको छ । यसका लागि न्यायाधीशहरूको सरुवा नभए सम्म अन्तिम फैसला आउने सम्भावना कम रहेको रजिष्ट्रार सुवेदीले बताए ।