kumari
stcnepal

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटको निकट पुगेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए अब एकढिक्का रहने सम्भावना करिब सकिएको छ ।

पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षले समानान्तर क्रियाकलाप अघि बढाउने तयारी गरेको छ । पन्त नेतृत्वले गरेको विश्व सम्मेलनमा भाग नलिने निर्णय गरेको उक्त पक्षले शुक्रबार निर्वाचन तयारी समिति समेत गठन गर्ने बताइएको छ ।

मार्च २३ र २४ मा गर्ने गरी पन्त पक्षधरले तोकेको समयकै आसपासमा आचार्य पक्षले विश्व सम्मेलनको मिति तोक्ने तयारी गरेको छ । संघका पूर्वअध्यक्ष शेष घलेले निर्वाचन तयारी समिति घोषणा गर्ने बताइएको छ । घले नेतृत्वमा रहेको संरक्षक परिषद भंग गर्ने तथा बहुसंख्यक डेलिगेट्स रहेका देशहरुको कार्यसमिति विघटन भएपछि दुई पक्षको दुरी थप बढेको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिएको थियो ।

अध्यक्षका प्रत्यासी आचार्यले संरक्षक परिषद भंग गर्ने अधिकार वर्तमान कार्यसमितिलाई नरहेको दाबी गरे । उनी भन्छन्, ‘संरक्षक परिषदले गराएको निर्वाचनमा हामी भाग लिन्छौं । पन्त कार्य समितिले गराउने विश्व सम्मेलनको वैधानिकता नै छैन ।’ शुक्रबार सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, आचार्यले उम्मेदवारी दर्ता नगर्ने बताइसकेका छन् । अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत अक्टोबरमा तोकिएको विश्व सम्मेलनमा चुनिने प्रतिनिधिको विषयलाई लिएर विवाद सुरु भएको थियो । आचार्य पक्षले डेलिगेट्समा अनियमितता गरेको आरोप सहित परराष्ट्रमा उजुरी दिएपछि विवाद झन् बढ्दै गएको थियो । पन्त कार्यसमितिले डिसेम्बर १९ र २० मा सम्मेलन हुने गरी नयाँ मिति तोकेको थियो । आचार्य पक्षले विवाद साम्य नभई निर्वाचनमा भाग लिन नसकिने अडान लिएपछि उक्त समयमा पनि सम्मेलन हुन सकेन ।

 

 

 

footer