kumari
stcnepal

भट्टराईको अरु राजनीतिक शक्तिहरुको विश्लेषण

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्ड नाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् ।

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमाले भन्दा थोरै लचिलो र उदार देखिएको उनले बताएका छन् । तर माओवादीले यस्ता मुद्दामा पनि अवसरवादी नीति अख्तियार गरेको भन्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘एमाले सँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो । हालै एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी के कति कारणले एमाले र माओवादी केन्द्र भन्दा भिन्न भन्ने अझै प्रष्ट भइनसकेको उनले बताएका छन् । राप्रपा शक्तिले सानो भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको भन्दै  भट्टराईले लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्ने प्रोपगाण्डाहरु प्रति चनाखो रहनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक समाजवाटी पार्टीको विचार, सिद्धान्त र एजेण्डा प्रष्ट नभएको, प्रतिगमनलाई साथ दिने कि नदिने मतभेदमा जसपा बाट फुटेर गएको भन्दै उनले भनेका छन्, ‘ओली सरकारको दुइ-दुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहार बाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टी बारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’ विवेकशील–साझा पार्टीको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको भट्टराईको विश्लेषण छ ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूल बाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो । उनीहरु सँग संवाद र सहकार्य गर्न सकिन्छ ।’ जनमत पार्टीको वास्तविक राजनीतिक अभिष्ट के हुन् भन्ने अझै प्रष्ट नभएको उनले बताएका छन् । ‘स्वतन्त्र मधेश’ को नारा बाट यो पार्टीको नेतृत्व चर्चामा आउको र ओली सरकार सँग आत्मसमर्पण गरेको भन्दै उनले भनेका छन्, ‘यसले हाम्रो पार्टी र मधेश सरकार विरुद्ध अनेक अवाञ्छित र झुठा प्रोपागण्डा गरेको छ । त्यसको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ ।

footer