kumari
stcnepal

नियम विपरीत ब्याजदर परिवर्तन बारे राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गरायो

बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो ।

बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइए पछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक साथै नेपाल बैंक, नबिल बैंक, एनएमबी बैंक र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको हो ।

विभागका अनुसार नेपाल एसबीआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेत नियम विपरीत ब्याजदर नबढाउन सचेत गराइएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन तथा परिपत्र अनुसार बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेप तीन महिना सम्म परिवर्तन गर्न पाइँदैन । तर यी बैंकहरुले नियम विपरीत तीन महिना नपुग्दै ब्याजदर बढाए पछि राष्ट्र बैंकले एक्सन लिएको हो । पहिलो पटक भएकाले बैंकका सीईओहरुलाई राष्ट्र बैंकले सचेत मात्रै गराएको छ।

यसैगरी कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले फरक पार्न नपाइने व्यवस्था छ । यो व्यवस्था समेत केही बैंकहरुले उल्लङ्घन गरेका छन् । उता वैधानिक तरलता अनुपात कायम नगर्ने केही बैंकलाई भने आर्थिक जरिवाना समेत गरिएको राष्ट्र बैंकले बताएको छ ।

 

 

 

footer