kumari
stcnepal

टिचिङ लाइसेन्सको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्न मात्र सोध्ने निर्णय

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्न मात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गते देखि नै यो लागु भएको आयोगले जनाएको छ ।

आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अब देखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यस अनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ । शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको जानकारी दिए । ‘पहिलेको परीक्षा बोझिलो भएकाले सरलीकृत गर्नुपर्छ भन्ने उद्देश्य अनुसार यो निर्णय आयोगले गरेको हो,’ मरहठ्ठाले भने ।

‘गत एक वर्ष हामीले अध्यापन अनुमति पत्रको लागि विषयगत गरेका थियौं । त्यो अलि बोझिलो पनि भयो । त्यो त्यति व्यवहारिक पनि भएन भनेर हामीलाई धेरै ठाउँ बाट सुझाव पनि आयो,’ उनले भने । शिक्षक सेवा आयोगले २०६१ सालदेखि टिचिङ लाइसेन्सको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि टिचिङ लाइसेन्स परीक्षाको व्यवस्था थियो ।

निमावि र मावि तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्रावि बारे भने निर्णय गरेको छैन । त्यसको कारण बारे आयोगका सूचना अधिकारी मरहठ्ठाले भने, ‘निमावि र प्राविको शैक्षिक योग्यता एउटै छ । त्यसैले अहिलेलाई प्राविको लागि भनेर निर्णय भएन ।’

 

 

footer