kumari
stcnepal

इटलीले लगातार दोस्रो पटक बिश्वकप फुटबल खेल्न नपाउने

काठमाडौं । नर्थ मासेडोनिया सँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ ।

अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका थिए । यो हारको अर्थ इटली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । विश्व फुटबलको महामेलामा चार पल्टको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आठ महिना अघि मात्र रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो-२०२० को फाइनलमा इंग्ल्याण्डलाइ उसकै मैदान वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो । बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो ।सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भयो ।

विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगल सँग खेल्नेछ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोलले पराजित गरेको थियो । फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदै छ ।

 

 

 

footer