kumari
stcnepal

जयप्रकाश थारु एमाले पर्साको अध्यक्षमा चयन

वीरगञ्ज । नेकपा एमालेको पर्सा जिल्ला कमिटीका अध्यक्षमा जयप्रकाश थारु चयन भएका छन् । नेकपा एमाले पर्साको ८औं जिल्ला अधिवेशनले थारुको अध्यक्षतामा १३५ सदस्यीय कमिटीको नाम सार्वजनिक गरिएको हो ।

बन्द सत्रमा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेका थिए । पाँच जना पदाधिकारी मध्ये उपाध्यक्षमा फरमान अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा सञ्जीव मिश्र र प्रद्युम्न सेढाईं चयन भएका छन् । एमालेले यसअघि पुस २७ र २८ गते बन्द सत्र राखेको थियो । बन्द सत्रमा नेताहरु बीच कुटाकुट भएपछि स्थगित गरिएको थियो ।

विवाद समाधान गरी सर्वसम्मत नेतृत्व चयन गर्ने जिम्मा केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रभु हजारा र अरबिन्द सिंहले पाएका थिए । चार मध्ये तीन केन्द्रीय सदस्यले पेश गरेका पदाधिकारी र सदस्यहरुको मात्रै नाम जिल्ला कमिटीमा राखिएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्य एवं विवाद समाधान गर्न गठित समितिको सदस्य अरविन्द सिंह जिल्ला कमिटीको पदाधिकारी र सदस्यको नाम छनोट प्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

 

 

 

footer