kumari
stcnepal

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गर्यो

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकार सहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ । प्रवुद्ध समितिको संयोजकमा कलैयाका नन्दन अर्याल चुनिएका छन् । डा. शिवशंकर यादव, रोहित हिङनाम, हरिदेव ठाकुर लगायत प्रवुद्ध समितिको सदस्य छन् ।

केन्द्रीय सदस्य मदन अर्याल (प्रभात)का अनुसार कम्युनिष्ट आन्दोलनमा योगदान गरेकाहरु पाका व्यक्तिहरु रहने प्रबुद्ध समितिले केन्द्रीय समितिको निर्णयलाई पनि भिटो प्रयोग गरेर रोकेर फिर्ता पठाइदिन सक्छ । त्यसलाई नसच्याइकन फेरि ल्याइए राष्ट्रिय भेला समेत बोलाउन सक्ने अधिकार रहेको अर्यालले बताए । वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागीता सुनिश्चित गरिएको छ । यद्यपि केन्द्रीय समितिले पूर्णता पाउन भने बाँकी छ । सचिवालय गठन र एक जना प्रवक्ता चयन गर्न पनि बाँकी छ । केन्द्रीय समितिको एक तिहाइ सदस्य सचिवालयमा रहन्छन् । केन्द्रीय समितिले पूर्णता पाए पछि सचिवालय गठन हुने एक नेताले बताए ।

यही चैत १७ गते देखि काठमाडौंमा राष्ट्रिय भेला सुरु भएको थियो । १८ गतेको बन्दसत्रमा आहुतिले राजनीतिक, जागृत रायमाझीले विधान, धनकुमारी सुनार आर्थिक प्रतिवेदन पेश गरेका थिए । मधेश प्रदेश संयोजक समेत रहेका केन्द्रीय सदस्य मदन अर्यालले समसामयिक प्रस्ताव समेत राखेका थिए । प्रस्तावहरुमा समूहगत छलफल पछि १९ गते पारित गरिएको थियो । भेलामा करिब चार सय प्रतिनिधिहरु सहभागी थिए ।

 

footer