kumari
stcnepal

पत्रकारिताको धर्म विपरित प्रधानमन्त्रीको उद्घोष

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीओली पछिल्लो पटक सञ्चार जगत् प्रति आक्रोशित हुन थालेका छन् । प्रधानमन्त्री सहभागि हुने प्राय प्रत्येक कार्यक्रममा उनले सञ्चारमाध्यमका विरुद्ध आक्रोश पोख्दै आएका छन् । सञ्चारमाध्यमले अप्ठ्यारो अवस्थाको फाइदा उठाउन खोजेको प्रधानमन्त्री ओलीको आरोप रहेको छ । केही दिन पहिला पनि सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुसँगको भेटमा उनले सञ्चारमाध्यमप्रति आक्रोश पोखेका थिए । प्रधानमन्त्री ओलीको एउटै आरोप छ केही सञ्चारमाध्यमहरुले सरकारप्रति अनास्था फैल्याईदिए भनेर । सञ्चार माध्यमले त जहिलेसुकै पनि सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र जनताको हित विपरितका कार्यहरुको विरोध गर्ने धर्म निभाइरहेका बेला सञ्चार माध्यमलाई गाली गर्नुको कुनै अर्थ रहँदैन ।

गत शुक्रबार विहानै प्रधानमन्त्री ओलीको श्रमिक दिवसको अवसरमा शुभकामना आयो । शुभकामनाको अन्त्यतिर उनले सञ्चारमाध्यमप्रति तीव्र रोष प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकका मिडियाहरुले र सोसल मिडियाले मुलुकमा अस्थिरता निम्त्याउन खोजिरहेको जस्तो गम्भीर आरोप सञ्चारमाध्यमलाई लगाएका छन् । आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयासहरु भएको भन्दै त्यसको चर्चा समेत गरेका छन् । प्रधानमन्त्री ओलीले यति मात्र भनेका छैनन् उनले आफ्नो आलोचना गर्नेहरु विरुद्ध उत्रिन सरकार, नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र आम नेपाली जनतालाई आह्वान समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन् आफ्ना स साना स्वार्थ वा कुनै गलत उदेश्यका साथ कसैले यस परिस्थितिलाई विथोल्न र विगार्न खोज्छ भने सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई किमार्थ स्वीकार नहुने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन् । यस्ता प्रयासलाई सफल हुन दिन्न म सबैलाई आश्वस्त पनि पार्न चाहान्छु भनेका छन् । दोस्रो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओलीले पटक पटक सञ्चार माध्यमलाई चेतावनी भाषामा धम्की दिँदै आएका छन् । केही समय पहिला उनले आफ्नो सरकारका कामको प्रतिरक्षागर्न सिंगो पार्टीपंक्ति र आफ्ना कार्यकर्ताहरुलाई अरिंगालको गोला भएर खनिन निर्देशन समेत दिएका थिए । त्यसको केही समयपछि नै सरकारका काम कारबाही बारेमा समारचाहरु प्रकाशित गर्ने र लेख्ने विरुद्ध सामाजिक सञ्जालमा फेक नाम राखेर खोइरो खन्ने काम समेत गरिएको थियो । सञ्चार माध्यमले सरकारका कामको जानकारी जनतालाई दिने र जनताका गुनासाहरु, पीरमर्का सरकारसँग पु¥याईदिने पुलको काम गरिरहेको बेलो यसरी प्रधानमन्त्री नै सञ्चार माध्यमविरुद्ध खनिनु आफ्नो नेतृत्वको सरकारको असफलता लुकाउने काम बाहेक अन्य केही हुन सक्दैन ।

ओली नेतृत्वको सरकारले गरेका हरेक कार्यहरु विवादको घेरामा तानिएका छन् । विगतमा सरकारले सरोकारवालाहरुसँग छलफल र बहसै नगरी केही विवादास्पद विधेयकहरु संसदमा दर्ता गराएको थियो । जसमा मिडिया काउन्सिल विधेयक आम सञ्चारमाध्यमसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक, सेना परिचान सम्बन्धी विधेयकहरुका विरुद्ध सञ्चार माध्यमलले व्यापक विरोध गरेका थिए । गुठीसम्बन्धी विधेयकको त सडकमै व्यापक विरोध भयो । जनताको विरोध थेग्न नसकेपछि उक्त विधेयक फिर्ता लिन बहुमतको सरकार बाध्य भयो । विधेयकहरु ल्याउँदा पहिला नै सरोकारवालाहरुसँग व्यापक छलफल र बहस गर्नुको बदला आफ्ना पार्टीका त्यसमा पनि आफ्ना पक्षका केही व्यत्तिःहरुको सल्लाह र सुझावमा विधेयक ल्याइएको र त्यस्ता विधेयकहरु जनताको हितमा नभएकाले सञ्चार माध्यमले विरोध गरेपछि प्रधानमन्त्री ओली सञ्चारमाध्यमप्रति रुष्ट बन्दै गएका थिए । पछिल्लो पटक बैशाख ८ गते राजनीतिक दल विभाजन सम्बन्धी ऐन र सम्वैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरियो । तर ती दुवै अध्यादेशको सञ्चारमाध्यम र सबै राजनीतिक दलहरुले विरोध गरेपछि आफ्नै पार्टीको विरोध थेग्न नसकेपछि ७२ घण्टामै अध्यादेश फिर्ता लिन ओली सरकार बाध्य भएको थियो । त्यही रिस पोख्न प्रधानमन्त्री ओली अहिले सञ्चारमाध्यमको विरोधमा खनिएका छन् । श्रमिक दिवसको अवसरमा दिएको प्रधानमन्त्रीको सन्देशमा घुमाउरो पाराले आफ्ना अरिंगालहरुलाई प्रतिकारमा उत्रन आग्रह प्रधानमन्त्रीले गरेका छन् । मन्त्रिपरिषद्को बैठकमै समेत उनले सञ्चार माध्यमका विरुद्ध गाली गर्ने गरेका छन् । यसरी मुलुकका प्रधानमन्त्री नै सञ्चारमाध्यमको विरुद्ध खनिनुको अर्थ के ?

मुलुक यतिबेला कोरोना भाइरसको आतंकले आक्रान्त रहेको बेला त्यसको रोकथाम र नियन्त्रण गर्न खरिद गरिएको औषधी र उपकरणमा समेत व्यापक घोटला भएको समाचार प्रकाशित भएपछि घोटालामासंलग्न भएकाहरुलाई कानुनी कारबाही गर्नुको बदला उनीहरुलाई बचाउन नै प्रधानमन्त्री लाग्नुभयो । यति समूहलाई नेपाल ट्रष्टको जग्गा सम्झौता अवधि ६ वर्ष बाँकी हुँदाहुँदै पुन कौडीको मूल्यमा त्यही समूहलाई पुन दिइयो । बालुवाटार, ललितानिवास जग्गा काण्डमा संलग्न भएकाहरुलाई आफ्नो पार्टीका भएको भन्दै केहीलाई मुद्दा नचलाउन दबाब दिइयो । यी सबै काण्डहरुलाई भण्डाफोर सञ्चार माध्यमले नै गरेका हुनाले प्रधानमन्त्री सञ्चार माध्यमका विरुद्ध खनिएको प्रष्ट हुँदै गएको छ । मन्त्रिपरिषद्को बैठकमै सञ्चार माध्यमको विरोध गर्नुले प्रधानमन्त्री ओली सञ्चारमाध्यमलाई चीनमा जस्तो आफ्नो नियन्त्रणमा राख्नका लागिपर्नु भएको भएपनि त्यो असम्भव रहेपछि उनी आफ्ना भाट र हुक्के बैठकेहरु चलाएका सञ्चार माध्यममा आफ्नो तारिफ गर्न लगाउनुहुन्छ तर स्वतन्त्र पत्रकारिता गरिरहेका सञ्चारमाध्यमले त्यसो नगरेपछि उनी सञ्चारमाध्यमको विरुद्ध खनिनु भएको हो ।

कहिले प्रधानमन्त्री भन्नुहुन्छ आफ्नो सरकारका सकारात्मक काम कारबाहीका बारेमा समाचार लेख्ने मुटु भएका सम्पादकहरु नै छैनन् भन्दै आपत्ति जनाउनुहुन्छ भने कहिले सञ्चार माध्यमले बेथिति फैलाई दिए भनेर दुःख पोख्नुहुन्छ । स्टालिनको साहित्य पढेका कम्युनिष्ट नेताहरुलाई आफ्ना आलोचक कोही हुनु हुन्न भन्ने भ्रम परेको छ । अमेरिकाका तत्कालिन राष्ट्रपति हेनरी किसिन्जरलाई एक पटक सोधिएको थियो रे तिमी सञ्चार माध्यम नभएको राज्य लिन्छौ कि सञ्चार माध्यम भन्दा उनले आफूले सञ्चार माध्यम लिने अभिव्यक्ति दिएका थिए । तर हाम्रा प्रधानमन्त्री भने आफ्नो तारिफका भोका रहेका हुनाले सबै सञ्चार माध्यमले आफ्नो तारिफ गरिदिनऊन् भन्ने चाहानुहुन्छ त्यो उहाँको भ्रम बाहके अन्य केही हुन सक्दैन । पत्रकारिताको धर्म अनुसार सञ्चार माध्यम चलेको हुनाले जनताको हित विपरितका कार्यमा सञ्चार माध्यम सञ्चालन हुन सक्दैनन् । पत्रकारिताको धर्म विपरित गएर सञ्चार माध्यमले सरकारले गर्ने जनताका हित विपरितका कार्यलाई समर्थन गर्न सक्दैनन् भन्ने हेक्का प्रधानमन्त्री र सत्ताधारी दलका नेता तथा कार्यकर्तालाई होस् भन्ने हामी कामना मात्र गर्न सक्छौँ, भन्ने हामीले ठानेका छौँ ।

footer