सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

व्यवस्था परिवर्तन भयो नेताहरु भएनन्

468
shares

२०४६ सालको राजनीतिक परिवर्तपछि मुलुकमा विभिन्न राजनीतिक दलहरुले सत्ता सञ्चालन गरे । जनतालाई अनेक प्रकारका आश्वासन दिए । व्यवस्था परिवर्तन भयो । सत्ताधारी दलहरु परिवर्तन हुँदै गए तर राजनीतिक संस्कारमा परिवर्तन हुन नसकेको हुनाले मुलुक संकटतर्फ धकेलिँदै गएको छ । २०४७ सालदेखि आजसम्म राजनीतिक दल र नेताहरु आफ्नो पदका लागि मात्र केन्द्रित भएका छन् । एक पटक पद पाएपछि जीवनको अन्तिम अवस्थामा समेत पद नछोड्ने प्रवृत्ति उनीहरुमा रहेका हुनाले जनतामा भने क्रमश निराशा बढ्दै गएको छ । खास गरी २०६२÷६३ को आन्दोलनपछि शक्तिलाई आफ्नो पक्षमा पार्नकै लागि नेताहरु ज्यान छोडेर लागेका छन् । एउटा राजा हुँदा राज्यकोषबाट जति खर्च हुन्थ्यो अहिले त्यसको दशौँ गुणा खर्च भएको छ । राजनीतिक दलहरु नै सत्तामा पुग्ने भएपनि उनीहरुले आफ्नै पार्टीको विश्वास जित्न नसकेका हुनाले सत्तामा बस्ने व्यक्तिले सत्ता बचाउनका लागि राज्यकोषको दोहन गर्ने र्पवृत्ति बढेको छ । व्यवस्था बदलियो मानिस बदलिएपनि राजनीतिक प्रवृत्ति खासै बदलिएको छैन । जसरी भएपछि सत्ता हत्याउने र सत्तामा पुगेपछि सत्ता छोड्दै नछोड्ने प्रवृत्तिमा आफूलाई प्रजातन्त्रको ठेकेदार सम्झिने प्रजातन्त्रवादी भनिने नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी दुवैमा त्यस्तो खतरनाक प्रवृत्ति देखिएको छ । विगतमा सत्ता संघर्षका क्रममा सरकार बनाउने र भत्काउने काम धेरै भए त्यस्ता खेलहरुले गर्दा जनता आक्रान्त भइसकेका थिए । यस्तो घृणित खेल २०५२ सालदेखि सुरु भएको थियो त्यही खेलकै कारण तत्कालिन माओवादीले सशस्त्र संघर्ष सुरु गरेको थियो ।

२०६२÷०६३ को आन्दोलनपछि माओवादीले सहमति गरेर शान्तिपूर्ण अवतरण गरेपछि अब मुलुकमा शान्ति सुव्यवस्था कायम होला जनताले सहज रुपमा बाँच्न पाउलान् भन्ने आशा गरेका थिए । तर अहिले जनताका त्यस्ता आशा एवं विश्वास माथि राजनीतिक दलहरुले घात गरेका छन् । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुने निश्चित भएपछि उनीहरु एउटै भएर निर्वाचनमा गएका हुनाले उनीहरुले संघीय संसददेखि प्रदेशसभा हुँदै, स्थानीय तहमा झण्डै दुई तिहाई मत ल्याएका छन् । त्यही कारण नेपाल कम्युनिष्ट पार्टीका नेतृत्वमा संघ र ७ वटा प्रदेशमध्येका ६ वटा प्रदेशमा बहुमतको सरकार निर्माण भएको छ । सरकार निर्माण भएको अढाई वर्ष पुगेपछि सरकारले अहिले सम्म जनताको हितमा काम गर्न सकेको छैन भने अहिले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक द्वन्द्वले उग्ररुप लिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी अ‍ोली र पुष्पलकम दाहालबीचको आन्तरिक द्वन्द्वले गर्दा सरकार सञ्चालनमै बाधा परेको छ भने विश्वभरमा फैलिएको कोरोना भाइरसका कारण मुुलुकमा सस्या उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले संकटको समाधान गर्ने तर्फभन्दा आफ्नो कुर्सी बचाउनैका लागि बढी समय दिनुपरेकाले कोरोना भाइरस रोगको रोकथाम र नियन्त्रणमा खासै उपलब्धी हुन सकेको छैन । ओली सरकारका मन्त्रीहरु मुलुक संकटमा परेको बेलामा समेत भ्रष्टाचारमा संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेका छन् । प्रधानमन्त्रीलाई आफ्नो स्वास्थ्यले समेत साथ नदिईरहेका बेला प्रधानमन्त्रीले नियमित तवरमा काम गर्न नसकेको सत्य वास्तविकता भएपनि त्यसलाई स्वीकार गर्न उनी तयार देखिएका छैनन् ।

केही महिना पहिला भारतले नेपालको लिपुलेक लिम्पियाधुरा समेतलाई आफ्नो राजनीतिक नक्साभित्र राखेर नक्सा प्रकाशित गरेपछि त्यसको व्यापक विरोध भयो । जनताको विरोधलाई मध्यनजर गर्दै ओली सरकारले भारतलाई लिखित रुपमा एउटा पत्र नोट पठाउनुबाहेक अन्य केही गर्न नसकिरहेको बेला अस्तिमात्र भारतले नेपाललाई थाहै नदिई लिपुलेकमा सडक बनाएको छ । भारतका रक्षामन्त्रीले उक्त सडकको उद्घाटन गरेपछि मात्र सरकार र सरकारी संयन्त्रले त्यसको जानकारी पाएका थिए । आफ्नो भूमिमा छिमेकी मुलुकले सडक निर्माण गर्दा सम्म हाम्रा सरकारी संयन्त्र र हाम्रो जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको जासुसी संस्थाले समेत थाहा नपाउनुले प्रमाणित हुन्छ हाम्रो सरकार र हाम्रा जासुसी संस्थाहरु गफमै सिमित भएका छन् भनेर ।

अहिले संघीय संसदको बैठक बसिरहेको छ । बैठकको पहिलो दिन गत शुक्रबार नै भारतले बनाएको उक्त सडकका बारेमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलहरुले त्यस विषयमा सरकारको जवाफ मागेका थिए । तर बैठकको पहिलो दिन संसदको बैठकमा प्रधानमन्त्री उपस्थित नै हुनुभएन । सत्ताधारी दलकै केही नेताहरुले त्यसको विरोध गरेपनि सरकारले भने केही जवाफ नदिएको हुनाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार राष्ट्रियताका बारेमा गम्भीर छैन भन्ने प्रमाणित भएको छ । आफ्नो भूमिबाट महिनौँ लगाएर सडक निर्माण गर्दा समेत नत स्थानीय तहले त्यो थाहा पाए नत प्रदेश सरकारले नै न त संघीय सरकारले नै थाहा पायो । यो भन्दा लाजमर्दो विषय के हुन सक्छ ? यसको जवाफ सरकारले तत्कालिन किन दिनु नपर्ने ? हिजो सरकारको नेतृत्व गरिसकेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समेत संसदमा बोल्दा त्यस विषयमा भन्दा प्रधानमन्त्री ओलीको राजिनामा माग्ने र सरकारका काम कारबाहीलाई नै प्रमुख मुद्दाका रुपमा उठाएका थिए । सत्ताधारी दलभित्र एक मत हुन नसकेको र दुई अध्यक्षमध्येका एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समेत प्रधानमन्त्री ओलीको विपक्षमा रहेर सत्ता हत्याउने खेलमा सक्रिय भएकाले राष्ट्रिय मुद्दाहरु ओझेलमा परेका छन् । सत्ताधारी दलका सांसदहरु नै प्रधाानमन्त्रीको पक्षमा र विपक्षमा बाँडिएका र त्यही अनुरुपको व्यवहार देखाईरहेकाले गणतन्त्र नै धरापमा परेको छ । यी सबै कारणहरुले गर्दा र राजनीतिक दलहरुको नालायकीपनकै कारण मुलुक थप संकटमा पर्न सक्ने सम्भावना भएकाले अब पुन राजसंस्थाको आवश्यकता मुलुकलाई भएको छ । अहिले मुलुकमा मेहे विनाको दाईं चल्ने गरेको र त्यस विषयलाई सही रुपमा व्यवस्थापन गर्न सक्ने कुनैपनि संस्था नभएकाले गर्दा पनि मुलुकमा राजसंस्थाको अपरिहार्य आवश्यकता देखिएको छ । पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थपूर्तिका लागि राजनीतिक दलहरुले काम गरीरहेका हुनाले भ्रष्टाचार बढेको छ ।

बेथिति बढेको छ विकास निर्माणमा अवरोध सिर्जना मात्र भएको छैन, कोरोना भाइरसका कारण जनता नै संकटमा परेका छन् । मुलुकलाई लकडाउनमा राखिएको भएपनि लकडाउन खुलेपछि के गर्ने भन्नेमा न त सरकारले कुनै योजना बनाएको छ न त राजनीतिक दलहरुले नै । मुलुक संकटमा परेको बेला अरु त अरु कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामका लागि खरिद गरिएको औषधी र उपकरणमा समेत भ्रष्टाचार भएको छ । भ्रष्टाचारमा सरकाका मन्त्रीहरु र सत्ताधारी दलकै व्यक्तिहरुको संलग्नता देखिएको छ । ठीक त्यही बेला दल विभाजन गर्ने खेल खेलिएको छ । सांसदलाई अपहरण शैलीमा अपहरण गरिएको छ । त्यति हुँदाहुँदै पनि प्रधानमन्त्री ओली भने भ्रष्टाचारीहरुकै बचाउनमा लाग्नुभएकाले अब त्यसको दोष नेपाल कम्युनिष्ट पार्टीले समेत बोक्नुपर्दछ । यसरी सत्तामा बसेर लुट्ने बाहेक अन्य केही कामहरु नभएको र कोरोनाको कारण विदेशमा रहेका नेपालीहरुलाई समेत उद्दार गर्न सरकारले चासो नदेखाएको हुनाले अब सरकारको परिवर्तन भन्दा व्यवस्थाकै परिवर्तनको आवश्यकता देखिएको छ । अप्रेसन गर्नुपर्ने व्यक्तिलाई सिटामोल खुवाएर रोग निको हुन सक्दैन । त्यसैले अब राजसंस्थासहितको प्रजातन्त्रको लागि सबैलाई तयार हुन हामी जोडदार माग गर्दछौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports