kumari
stcnepal

जुम्ला रारा अल्ट्रा म्याराथन आज शनिबार बाट सुरु

सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । म्याराथनमा एक विदेशी सहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकै बाट सुरु भएको म्याराथन रारा ताल सम्म पुगेर सकिने छ ।

आयोजक क्लबका अध्यक्ष सरोज शाहीका अनुसार तीन वर्षयता हरेक वर्ष जुम्ला खलंगा देखि मुगुको रारा ताल सम्मको ४९ किलोमिटर लामो अल्ट्रा म्याराथन प्रतियोगिता भइरहेको छ ।‘जुम्लालाई उच्च पर्वतीय खेल प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याराथनको आयोजना गरिएको हो’ उनले भने ।

उनका अनुसार अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पियन वैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङ लगायतले सहभागिता जनाएका छन् । ‘स्पेन, अमेरिका, क्यानडा लगायतका १८ जनाले अल्ट्रा म्याराथनका लागि नाम दर्ता गराएका थिए । तर विविध कारणवश अन्तिममा आएर उनीहरुले सहभागीता जनाउन नसक्ने बताए’ क्लबका अध्यक्ष शाहीले भने ।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै ६२ हजार ५०० द्वितीयले, ३७ हजार ५०० तृतीयले र सान्त्वना हुने ७ जनाले ६ हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

 

footer