kumari
stcnepal

सत्तागठबन्धको संयुक्त वक्तव्य, सहकार्य र सहयोग भावनाले अघि बढौं

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् । सोमबार संयुक्त वक्तव्य जारी गर्दै पाँच दलका शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेको जनाएका छन् ।

‘देशको संविधानको उल्लंघन गर्दै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो’, संयुक्त वक्तव्यमा भनिएको छ । परिवर्तन विरोधी र प्रतिगामी दुराशय बाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि वक्तव्यमा प्रस्ट पारिएको छ । पाँच दलले लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।

‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं’ वक्तव्यमा भनिएको छ । साथै त्यसका लागि देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ ।

उनीहरुले स्थानीय तहको निर्वाचन सफल पार्न पाँचदलीय गठबन्धनका उमेदवारहरूलाई मत दिएर विजयी बनाउन अनुरोध समेत गरेका छन् । वक्तव्यमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

 

 

footer