kumari
stcnepal

जुनसुकै राजनीतिक व्यवस्था भएपनि कागलाई बेल पाक्यो हर्ष न विस्मात

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वले गर्दा दल नै विभाजनको डिलमा पुगेको छ । दलभित्रको आपसी द्वन्द्व सैद्धान्तिक नभएर भागवण्डाकै लागि भएको प्रष्ट हुदै गएको छ । पार्टीका दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री समेत रहेका छन् भने अर्का अध्यक्ष पार्टीको कार्यकारी अध्यक्ष रहेका छन् । पार्टीका दुवै अध्यक्षलाई एकै ठाउँमा आउन नदिने पार्टीकै वरिष्ठ नेताहरुको व्यवहारले गर्दा पार्टी विभाजनको डिलमा पुगेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको अढाईवर्ष पुगेपनि अहिलेसम्ममा पार्टीले एकीकृत आधार लिन नसकिरहेको बेला पार्टी विभाजको डिलमा पुगेको छ । दुवै अध्यक्षले आ आफूले पाएका अधिकारको सदुपयोग गरेका भए पार्टीभित्र अहिले देखिएको विवाद नै उत्पन्न हुने थिएन । तत्कालिन नेकपा एमालेमा रहेका गुट उपगुटहरुको समायोजन पार्टी एकीकृत भइसकेको अवस्थमा समेत कायम रहेको र तिनै गुटहरुभित्र रहेर पार्टीका अध्यक्ष पुष्पकमल दाहालले खेल्ने गरेका हुनाले नै अहिले पार्टीमा समस्या देखिएको प्रष्ट हुँदै गएको छ ।

सत्ताधारी दलभित्र झण्डै एकवर्ष अघिदेखि विवाद उत्पन्न भएको र त्यस्ता विवादहरुलाई सम्बन्धित निकायहरुले हल गर्नुको बदला दुवै अध्यक्षहरुलाई लडाएर आ आफ्नो स्वार्थ पूर्ति गर्न खोजेको प्रष्ट भएको छ । तत्कालिन नेकपा एमालेमा रहँदा समेत पार्टी अध्यक्ष केपी ओली र पार्टीका वरिष्ठ नेता माधव नेपालबीचमा राम्रो सम्बन्ध कायम हुन नसकेकै कारण अर्का अध्यक्ष दाहालले पार्टीमा खेल्ने ठाउँ पाएका हुन् । नेकपाको एकीकृत विधानमा दुवै अध्यक्षको सहमतिमा पार्टी र सरकार सञ्चालन हुने व्यवस्था गरिएको भएपनि गत वर्षको मंसिरमा पार्टीको कार्यकारी अध्यक्ष रहेका दाहालले पार्टीका काम गर्ने र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकारको सञ्चालन गर्ने सहमति दुवै अध्यक्षबीचमा भएपनि पार्टीले अहिलेसम्म गति लिन नसकेको र पार्टीका गतिविधिहरु प्रायः शुन्य अवस्थामा रहेका छन् । आफ्नै पार्टीका नेतृत्वको सरकारले गरेका निर्णयहरुको समेत पार्टीले अपनत्व लिएको देखिएन । आफ्नो पार्टीको नेतृत्वमा सरकार रहेको छ भन्दै व्यक्तिगत स्वार्थ पूरा गर्ने तर सरकारले गरेका निर्णयहरुको स्वामित्व नलिने प्रवृत्तिले गर्दा सरकार समेत एक्लै हिड्नुपर्ने अवस्थामा रहेको बेला गत कार्तिक २८ गते पार्टीका अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री माथि विपक्षी दलहरुले लगाउने भन्दा संगीन आरोप लगाउँदै पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावको नाममा जुन प्रस्ताव पेश गरे त्यही नै समस्याको बाधक रहेको थियो । आफूलाई पार्टीका अर्का अध्यक्षले गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओलीले समेत अध्यक्ष दाहाललाई त्यस्तै संगीन आरोपहरु लगाउँदै ३९ पृष्ठ लामो प्रस्ताव सचिवालय बैठकमा मंसिर १३ गते प्रस्तुत गरेका छन् । ओलीले आफूमाथि लगाएका आरोपलाई खण्डन गर्दै ५२ वटा बुँदामा आफूँमाथि लागेको आरोपको खण्डन गरेका छन् । दाहालले लगाएका आरोपलाई आफ्नो प्रस्तावको पहिलो नम्बरमै खण्डन गर्दै दाहालमाथि आरोप लगाएकाले गर्दा अब ओली दाहाल एकै ठाउँमा बस्न सक्ने सम्भावना प्रायः न्यून रहेको छ । आरोप–प्रत्यारोप चलिरहेको भएपनि पार्टीका दोस्रो तहका नेताहरु भने आफैँपनि दुवै अध्यक्षलाई मिलाएर लैजाने प्रयासमा भएपनि त्यो प्रायः असम्भव जस्तै देखिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रस्तावको सुरुमै दाहाललाई जवाफ दिँदै भनेका छन् तपाईले ममाथि लगाएका आरोप प्रथम दृष्टिमै खारेज योग्य छ, तपाईको झुठो आरोपपत्र हात हातमा बोकेर विपक्षीहरु हिडेका छन् । तपाईले शान्ति सम्झौता भएपनि बारम्बार धोकाको खेल खेल्नुभएको छ । गएको प्रतिनिधिसभाको निर्वाचनमा तेस्रो पार्टीमा आएको तपाईको दलको नेताले मैले प्रधानमन्त्री बन्ने अवसर लत्याएँ भन्नु त्याग थियो भन्दै त्यसलाई तपाईभित्र लुकेको सत्ता लिप्सा बाहेक अन्य केही हुन सक्दैन भन्दै ओलीले दाहाललाई उत्तर दिएका छन् । तत्कालिन नेकपा एमालेको निर्वाचनमा ओली र पार्टीका वरिष्ठ नेता मावध नेपाल प्रतिस्पर्धामा थिए । नेपाल ओलीसँग पराजित भएका थिए भने दाहाल आफ्नो पार्टीभित्रबाट विना प्रतिस्पर्धाबाट अध्यक्ष बनेका थिए तर प्रतिस्पर्धामा अध्यक्ष बनेका ओलीलाई दाहालले ओलीको हैसियतमाथि नै प्रश्न उठाउनुले प्रधानमन्त्री ओली अझ रुष्ट बन्दै गएका थिए । यसरी ओली–दाहालले एक माथि अर्को प्रहार गरिरहेको अवस्थामा पछिल्लो समयमा लिखित रुपमै पत्रहरु प्रहार भएको छ । चुनावका बेला जनतालाई दिएको आश्वासनका विरुद्ध पार्टी र सरकार लाग्नु भनेको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अपमान हो ।

माओवादीका अध्यक्ष रहेका बेला समेत दाहाल दुई दुई पटक प्रधानमन्त्री बनेका छन् । त्यसबेला उनको नेतृत्वको सरकारले गरेका काम कारबाही जनताले देखेको र हेरेका छन् । पूर्ण रुपमा सत्ता कब्जा गर्ने उदेश्यले दाहालले पहिलो पटक प्रधानमन्त्री बन्दा देखाएको रवैयाले गर्दा उनी राजिनामा दिन बाध्य भएको इतिहास साक्षी रहेको छ । पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी भएको माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा आइपुग्दा तेस्रो पार्टीमा खुम्चिन बाध्य भएको इतिहास साक्षी रहेको र दाहालको सत्ता लिप्साकै कारण उनले नेकपा एमालेसँग पार्टी एकीकरण गर्न बाध्य भएका थिए । दुवै पार्टी एकीकरणपश्चात् अहिले संघीय संसदमा झण्डै दुई तिहाई मत रहेको र ७ प्रदेशमध्येका ६ वटा प्रदेशमा नेकपा कै बहुमतको सरकार रहेको बेला जनताको हितमा लाग्नुको बदला सत्ता लिप्साको भोक देखाउनु किमार्थ उचित हुन सक्दैन, अध्यक्ष दाहालाई अहिलेको सत्ता लिप्सामा पु¥याउने खेलाडीहरु भने तत्कालिन नेकपाकै नेताहरु रहेका छन् । दाहाललाई देखाएर तत्कालिन नेकपा एमालेमा रहेका बेलाका रिस, राग र इगो साँध्ने कार्य अहिले हुँदै आईरहेको छ । त्यसको एउटै कारण हो भागवण्डा, भागवण्डाका कुरा नमिलेरै अहिले नेकपामा विवाद सिर्जना भएको हो । पार्टी विभाजनका लागि सैद्धान्तिक मतभेद चाहिन्छ तर हाम्रा राजनीतिक दलहरुमा सैद्धान्तिक सिद्धान्त भन्दा व्यक्तिगत स्वार्थ र आफ्नो परिवार नातागोताको स्वार्थलाई हेरेर पार्टी विभाजन हुने गरेको इतिहास रहेकोले अब ओली दाहाल पनि एकै ठाउँमा बस्न सक्ने अवस्था देखिँदैन । एउटा पक्षले पछि हट्नै पर्ने अवस्था सिर्जना भएकोले गर्दा जुनसुकै राजनीतिक परिवर्तन भएपनि भन्न सकिन्छ त्यो नेपाली जनताको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको छ भनेर ।

footer