kumari
stcnepal

नेकपाकै कारण मुलुक नै संकटमा

नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्वले गर्दा मुलुक नै संकटमा परेको छ । कारण नेकपा सत्ताधारी दल समेत भएको र सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा पार्टीको पहिलो नम्वरका अध्यक्ष नै प्रधानमन्त्री भएका कारण मुलुक संकटमा पर्दै गएको छ । पार्टीको आन्तरिक द्वन्द्वले गर्दा सरकारले कोरोना भाइरसले आक्रान्त भएका जनतलाई स्वास्थ्य सेवा र उपचारमा समेत चाहेजति सेवा सुविधा दिन सकिरहेको छैन । गएको चैत्र महिना देखि नेपालमा कोरोना भाइरस भित्रिएको थियो । त्यही कोरोना भाइरसले गर्दा धेरै व्यत्तिःहरुले ज्यान गुमाईसकेका छन् भने झण्डै तिन लाख मानिस कोरोना भाइरसबाट पितिड भएका छन् । कोरोना भाइरसकै कारण मुलुकको अर्थतन्त्र डामाडोल हुने अवस्थामा पुगेको छ भने भएका उद्योग धन्दाहरु समेत बन्द हुने अवस्थामा पुगेका छन् । यस्तो जटिल परिस्थिति उत्पन्न भएको बेला सिंगो पार्टी र सरकार एकजुट भएर जनताको सेवामा लाग्नुको बदला सत्ताधारी दलभित्र देखिएको आन्तरिक द्वन्द्वलाई नेकपाका दुई अध्यक्षहरुलाई उचालेर आ आफ्नो गुटगत स्वार्थ पुरा गर्ने तिर दुवै गुटका नेताहरु सक्रिय भएका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपश्चात् नेपाल कम्युनिष्ट पार्टी गठन भएको र मुलुकका दुवै ठुला कम्युनिष्ट पार्टीहरु एकीकरण हुँदा उनीहरुले गएको निर्वाचनमा प्रतिनिधिसभामा झण्डै दुई तिहाई मत पाएका थिए । उनीहरुले प्रदेशसभा र स्थानीय तहमा समेत झण्डै दुई तिहाई नै मत पाएका छन् । ७ प्रदेश मध्येका ६ प्रदेशमा नेकपाकै बहुमतको सरकार रहेको छ भने स्थानीय तहमा पनि उनीहरुकै बहुमत रहेको छ । संघीय संसदमा झण्डै दुई तिहाई र प्रदेशसभा हुँदैै स्थानीय तहमा समेत उनीहरुकै बहुमत रहेको हुनाले जनताले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट ठुलो आशा एवं विश्वास गरेका भएपनि अहिले जनताको आशा एवं विश्वासमाथि नेकपाका नेताहरुले विश्वासघात र्दै आएका छन् । पछिल्लो समयमा सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरु विभाजित अवस्थामा रहेकाले उनीहरु जसरी भएपनि आ आफ्नो गुटको स्वार्थका लागि लागि परेका हुनलो जनताले आवश्यक सेवा सुविधा समेत पाउन सकेका छैनन् । विश्वको कम्युनिष्ट इतिहासमै एउटै पार्टीमा दुईवटा अध्यक्ष रहने व्यवस्था कहिँकतै देखिएको छैन । दुई ठुला पार्टी एकीकृत हुँदा तत्कालिन दुवै पार्टीका अध्यक्षहरुको व्यवस्थापन गर्नका लागि दुवै पार्टीका अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष बनाइएको हुनाले त्यहीबाट समस्या उब्जिएको हो । दुवै पार्टी एकीकृत हुँदा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भएपनि एकवर्ष अगाडि पार्टीका दुवै अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहालबीचमा अर्को सहमति भएको थियो, सो सहमति अनुसार अहिलेको प्रतिनिधिसभाको कार्यकालभरी ओली नै प्रधानमन्त्री रहने र पार्टीको कार्यकारी अध्यक्ष दाहाल रहने व्यवस्था रहेकोमा त्यसलाई उल्टाइएको हुनाले नै अहिले समस्या देखिएको हो । पार्टीका दुवै अध्यक्ष मिल्दा पार्टी एक हुने तर दुवै अध्यक्षका बीचमा असहमति हुँदा पार्टी नै विभाजनको अवस्थामा पुग्ने र पार्टी नै संकटमा पर्न सक्ने भएकाले त्यसबेलाको निर्णय नै गलत रहेको थियो ।

पार्टीका महत्वपूर्ण निर्णयहरु गर्दा दुवै अध्यक्षको सहमतिमा हुनुपर्ने पार्टीको विधानले व्यवस्था गरेको भएपनि गत कार्तिक २८ गते दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पहिलो नम्वरका अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि संगिन आरोप लगाउँदैपार्टी सचिवालयमा प्रस्ताव दर्ता गरेपछि त्यही प्रस्तावकै कारण अहिले पार्टी विभाजनको अवस्थामा पुगेको छ । अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि लगाएका गम्भीर आरोपहरुको पुष्टि आरोप लगाउनेले नै प्रमाणित गर्द सक्ने अवस्था देखिँदैन । कतिपय आरोपहरु फौजदारी केशमा कारबाही गर्नुपर्ने खालका रहेका हुनाले प्रधानमनत्री ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट हटाएर फौजदारी केश अन्र्तगत मुद्दा चलाउन सक्ने उद्घोष दाहालले गर्न नसकेका हुनाले उनले जसरी भएपनि ओलीलाई पदबाट हटाउने रणनीतिक उदेश्यका साथ त्यस्ता आरोप लगाएको प्रष्ट हुँदै गएको छ । तत्कालिन नेकपामा रहँदा पार्टी अध्यक्ष ओली र पार्टीका वरिष्ठ नेता माधव नेपालबीचमा राम्रो हुन नसकेको र उनीहरु दुवैबीचमा अहिले पनि सम्बन्ध सुध्रिन नसकेको हुनाले दाहाललाई साथ लिएर नेपाल ओलीलाई पदबाट हटाउनैपर्ने पक्षमा रहेका छन् । दाहालको प्रधानमन्त्री बन्ने तिव्र इच्छा र नेपाललाई पार्टी अध्यक्ष बन्ने तिव्र इच्छा जागेकै कारण दाहाल नेपालको स्वार्थ मिलेको हो । उनीहरुलाई आ आफ्ना पक्षले सहयोग र समर्थन गरिरहेका बेला उनीहरुको आत्मबलमा बृद्धि हुँदै गएकाले गर्दा ओलीमाथि दिन प्रतिदिन प्रहार भैरहेको छ ।

पछिल्लो समयमा जनता अभिभावकविहिन हुन पुगेका छन् । सत्ताधारी दल र सरकारले जनतालाई वेवास्ता गर्दै आफ्नो राजनीतिक उदेश्य पूरा गर्न लागेका हुनाले जनता सरकार र पार्टीकै विरुद्धमा सडकमा उत्रिएका छन् । दाहाल पक्षले सरकारकै कारण जनता सडकमा उत्रिएका हुनाले आफूहरु सुरक्षित रहेको बताउँदै आएका भएपनि नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको हुनाले सडकमा उत्रिएका जनताको आक्रोशलाई सरकार विरुद्धको मात्र आक्रोश हो भन्ने सोच्नु गलत हो । मुलुकमा महामारी फैलिएको छ । त्यसबेला सरकारलाई सहयोग र समर्थन गरी सरकारलाई प्रभावकारी ढँगले अघि बढ्न र सरकारले गरेका निर्णयहरु र काम कारबाहीको समर्थन गर्ने कार्य पार्टीको हो तर पार्टीले त्यस्तो कार्य गरेको देखिएन उल्टो सरकारले गरेका काम र निर्णयहरुको जिम्मेवारी पार्टीले लिन नसक्ने उद्घोष पार्टीका वरिष्ठ नेता माधव नेपाल सहितका नेताहरुले गरेपछि उनीहरुले हाम्रो पार्टीको सरकार हो भन्ने अधिकार समेत गुमाएका छन् । अध्यक्ष दाहाल नेपाल पक्षले सरकारले गरेका निर्णयहरुका अपनत्व नलिने हो भने उनीहरु किन आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टीको नेता हौ भनिरहेका छन् र ओली नेतृत्वको सरकारलाई किन नेकपाको नेतृत्वको सरकार हो भनिरहेका छन् ? त्यो नै विरोधाभास रहेको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा जनताले आवश्यक सेवा सुविधा लिनबाट बञ्चित हुनुपर्ने अवस्था आउनुले असफलता सरकारको मात्र होइन पार्टीको पनि हो । नेकपा भित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको हुनाले झण्डै दुई तिहाई मत पाएको नेकपाकै कारण मुलुक संकटको भूमरीमा पर्दै गएको छ । निर्वाचनका बेला नेकपाले स्थिर सरकार बनाउने आश्वासन जनतालाई दिएको थियो, आप्mनै आश्वासन विपरित सरकारको विरोधमा पार्टी उत्रिनु भनेको पार्टीको पूूर्ण असफलता बाहेक अन्य केही हुन सक्दैन त्यसैले भन्न सकिन्छ नेकपाकै कारण मुलुक संकटमा परेको छ भनेर ।

footer