सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जामुना गुभाजुले तिनख्यामा थुनेको गुरुमापा सिंहदरवारमा

533
shares

 

राजन कार्की

उतिबेला हरेक दिन मान्छे खाने गुरुमापालाई जामुना गुभाजुले तन्त्रविद्याले बाँधेर टुँडिखेलको कुनामा थुनेको गुरुमापाले भारतीय कूटनीतिको १२ बुँदे सम्झौताबाट ०६३ सालमा ब्यूताइएको परिवर्तनका भूतहरुको अवतार लिएर सिंहदरवारबाट ब्यूँतिएको १५ वर्ष भयो ।
गुरुमापा मान्छेमात्र खान्थ्यो, यी हन्तकाली भूतहरु त आफू उभिएको माटो, आफू बाँचेको हावापानी, आफू बाँच्ने समाजलाई समेत निचोरेर पिउन थालेका छन् । हामी जीवन बाँचेको जस्तो छैन, किनकि परिवर्तन आएकै छैन । जुका मोटाउने परिवर्तन के परिवर्तन ?पद्धति राष्ट्रको राजमार्ग हो, हामीले हिँडेको राष्ट्रमार्ग अदूरदर्शी काँडेघारी हुनथाल्यो ।साहित्यकार वीपी कोइरालाले राजनीतिभन्दा माथि उठेर लेखेका छन्– मानिस न पशु हो, न ईश्वर ।

मानिस केवल मानिस हो, पशुभन्दा माथि, ईश्वरदेखि तल ।वीपीको लेखाइ र हाम्रो भोगाइ, कुन तहमा होला ? लोकतन्त्र लोकजीवन हो, लोकबाजा हो । कसरी पाखण्ड भयो ? मृत्युधुन बन्यो ? लोकतन्त्रमा कृष्ण होइन, गुरुमापा पो जन्म्यो ।
गुरुमापाबारे भनिन्छ, कर्नाटक वंशी राजा हरिदेवको पालामा किलागलमा रहेको इटुँबहालका जुवाको कुलतमा फसेका केशचन्द्र नामको एक व्यक्ति बस्थे । उसले सबै श्रीसम्पत्ति जुवामा हारेपछि ठमेलमा रहेकी दिदीको घरमा भात खान जाँदा दिदीले सुनको थालमा भात दिएकी थिइन् । त्यो सुनका थाल बोकेर ऊ फेरि जुवाखालमा गयो र हा¥यो । अर्को दिन दिदीको घरमा ऊ फेरि भात खान गयो । दिदीले रिसाएर लौ खा भनेर भुइँमा भात हालिदिइन् । यस्तो अपमान सहन नसकेर उसले भात रुमालमा उठाएर स्वयम्भुको जङ्गलतिर लाग्यो । बाटोमा थकाइ मार्न एउटा ढुङ्गामा बसेको थियो, निदायो । परेवाले उसका रुमालका सबै भात खाइदिए ।
जसरी इटुम्बहालका नागरिकले केटाकेटी खाने गुरुमापालाई टुँडिखेलको पूर्व–दक्षिण कुनामा थान्को लगाए, वर्षेनी खान्की स्वरूप भोज खुवाउने प्रचलन बसाले । राजनीतिका गुरुमापाहरू जो जनता र देश खाइरहेका छन्, तिनलाई पनि उचित भोज खुवाएर एउटा थान्कोमा नराख्ने हो भने नेपाल निलिदिन सक्छन् । टुँडिखेल गुरुमापाको मैदान हो, गुरुमापा बनेका नेताहरूले नेपाललाई मिष्ठान्न बनाए, भान्छा बनाए ।
सवाल के छ भने बिरालाको घाँटीमा घण्टी झुन्ड्याउने कसले ? जिम्मेवारी जनताको हो, जनता असहाय बनिरहेका छन् । साहस भर्नेहरू तर्साइरहेका छन् । भ्रष्टाचारी भाइरस टपक्क टिपेर फाल्छु भन्नेहरू आफै आत्मघाती भाइरसको भरिया बनेका छन् । नागरिकको आवाज बोल्नुपर्नेहरू पार्टीको पिछलग्गु, नेताको हनुमान चालिसा पाठ गरेर बसेका छन् । नागरिक शासनको सुरक्षाअधिकारी कोही छैन । फर्सी कुहिएझैं कुहिएकाहरूले पद्धतिलाई कुहाइसके । कुहिएको बोक्नु, मृत्यु बोक्नु हो । आफूलाई अब्बल देखाउन असफल हुनेको बुई चढेर जँघार तरिन्न । जो असक्षम छन्, उनीहरूसँग बाँकी रहेको पाखण्डमात्र हो । पाखण्डको एकोहोरो शङ्ख सुनेर पुगिने चिहानमात्र हो ।
भारतका शासक प्रशासक बनेका प्रणव मुखर्जी र श्याम शरणले नेपालको परिवर्तन हामीले ल्याइदिएका ह्वौं, माओवादीलाई हामीले पालेका हांै भनेर दावी गरेका थिए । अहिले पनि एसडी मुनिजस्ता नेपालविद्हरू माओवादीलाई यहाँसम्म पु¥याएको हामीले हो भन्छन् र नेपालको परिवर्तनको स्टेक होल्डर भारत पनि हो भनिरहेका छन् । एसडी मुनि र पूर्व रअ प्रमुख र अमर भुषणले त इनसाइड नेपाल, इन्स्पायर्ड बाई अ ट्रिउ स्टोरी पुस्तक नै लेखेर नेपालको परिवर्तनमा भारत निर्णायक थियो भन्ने प्रमाणित गरिसकेका छन् ।कुनै पनि दल वा नेताले कतै पनि यी दाबीहरूको खण्डन गर्ने हिम्मत गरेनन् ।

भारतले ल्याइदिएको परिवर्तनलाई हामीले ऐतिहासिक मान्ने ? भारतले हिन्दुराष्ट्र र राजतन्त्रको अन्त्य गरेर गणतन्त्र उपहार दिएको रहेछ, ठूलो उपलब्धि भनेको लोकतन्त्र भारतको बक्सिसतन्त्र पो रहेछ । भागवत गीतामा लेखिएको छ– मानिस आफैभित्र आफ्नो बन्धु, शत्रु दुबै हो ।हामीले बन्धुलाई शत्रु र शत्रुलाई बन्धु बनाएको फल भोगिरहेका छौं । आफ्नो किस्मतमात्र मीठो हुन्छ, लोकतन्त्र अर्काको उत्पादन रहेछ, त्यसैले तीतो भयो । जनजीवनमा घुलित हुनसकेन ।पाखण्डमा पौरख हुँदैन । हाम्रा नेता स्वतन्त्र भइदिएको भए यिनमा आँट र आत्मबल हुन्थ्यो । सिद्धान्त, नैतिक बल र स्पष्ट लक्ष्य हुन्थ्यो । सुशासन र समृद्धिको उचाइ उचाल्ने अबधारणा हुन्थ्यो । स्थिर सरकार आयो भनेको त सिंहदरवारको फोहर गाउँपालिकासम्म बिकेन्द्रीकृत भयो । चाहिने विधि, फैलियो विधिहीनता । हुनुपर्ने सफाइ र निर्माण, भयो फोहर र नैतिक विध्वंश । यतिबेला जता हेरे पनि मुटु कमाउने चिसो बतास, डरलाग्दो अतासमात्र देखिन्छ । उपलव्धि बचाउनुपर्छ भन्नेहरू देशको रगत–पसिनको सर्वत पिइरहेछन् ।
आमनेपाली वाल्मीकि खोजिरहेका छन्, रत्नाकरहरू वाल्मीकि बन्न तैयार छैनन् । यी परिवर्तनको पण्डित्याइँ गर्ने महापण्डितहरू दुःख, दरिद्र र पीडा बोकेर बाँच्नेहरूलाई स्वर्गको सुखानुभूतिको चमक देखाएरै, रफु गफ चुटेरै शोषणको दहमा चोपलिरहेछन् । गरिबीमाथि राजनीतिक सुकुलगुण्डाको गुण्डागर्दी । संविधानको विशेषता स्वार्थ बेच्ने बजार बन्यो । रत्नाकर ब्राह्मणकुलका दीपक थिए । उनको सङ्गत खराव व्यक्तिहरूसँग भयो । सङ्गत गुनाको फल भनौं, रत्नाकर ज्यानमार्ने, ठग्ने, लुट्ने, कुट्ने, मार्ने, सोझासिधालाई दुःख दिने लतका आदि बन्न पुगे । हिंसा र व्यभिचार नै उसको दिनचर्या बन्नपुग्यो । एक दिन रत्नाकरले दैनिकी स्वभावअनुसार लुट्न खोजेकाहरू सप्त ऋषिहरू परेछन् । शान्त स्वभाव र ज्ञानी ऋषिहरूले रत्नाकरलाई अर्ती दिए– दुष्कर्म पाप हो, दुष्कर्म गर्दा आफैमाथि आइलाग्छ । ऋषिहरूको प्रतापले रत्नाकर बिस्तारै ज्ञानमार्गतिर आकर्षित हुन थाल्यो ।

ऋषिहरूले दिएको मन्त्रको जप, तप गर्न थाल्यो । रत्नाकर ईश्वरप्रति यसरी लीन हुनपुग्यो कि ऊभित्र ज्ञानमार्ग, मोक्षमार्गको विकास भइसकेछ । त्यसपछि रत्नाकर आदिकवि भएर निस्किए । डाँका रत्नाकर ‘बाल्मीकि’ अर्थात््् धमिराकोे ढिस्कोबाट आत्मज्ञानी बनेकाले उनको नाम बाल्मीकि भयो । यिनै बाल्मीकिले रामायण लेखे ।
राजनीतिक रत्नाकरहरूले संविधान लेखे, तर रामायणजस्तो पवित्र हुन सकेन । रामायणमा मर्यादा पुरुषोत्तमको गाथा छ, संविधानमा राजनीतिक पापकर्म बढाउने गन्तव्य । रामायण धर्मको उज्यालो अध्याय हो, २०७२ को संविधान अपराधको अध्याय । यो अध्यायमा यिनको चरीत्र माकुराको जुनीजस्तो छ । जसले आफ्नै आमाबाबु खाएर सिध्याउँछ । हाम्रो राष्ट्रिय सङ्कट भनेकै संविधानमा राष्ट्र अथात् जनतालाई सम्बोधन गर्न नसक्नु हो । ०४६ साल टर्निङ प्वाइन्ट थियो, कुशासन आयो । ०६३ साल अर्को टर्निङ प्वाइन्ट थियो, अनैतिकताको सुनामी भएर आयो । २०७२ सालपछि इमानको इतिश्री हुने टर्निङ प्वाइन्ट हो । भइरहेछ । रत्नाकरहरू वाल्मीकि बन्ने टर्निङ् प्वाइन्ट आउन सकेन । सडकदेखि संसदसम्म, सिंहदरवारदेखि शीतल निवाससम्म रत्नाकरमात्र छन् । त्यसैले त लोकतन्त्र सुख्खाग्रस्त, बञ्जरभूमिजस्तो भयोे राष्ट्रिय जीवन ।

जता पनि हिंसा र अराजकता । असुरपन भएका रत्नाकरभित्र देव अंश हालिदिने कसले ? अतिरोग, कोरोना सर्छ, देवांश सर्दैन किन ? मान्छे मर्छ, सुकर्म मर्दैन भनेर बुझाइदिने कसले ? जनयुद्ध र जनआन्दोलनको मोर्चामा जो जो अग्रपङ्क्तिमा थिए, ती कर्म भुलेर, आफ्नै कुकर्ममा आफै चिप्लिएर लडे । जो समाजवाद र राष्ट्रवाद भन्थे, ती पनि ढलेको रूखझैं भए । अब यिनले बाँचेको घाटाको राजनीति र नाफाको जीवनमात्र हो । अनीति, अत्याचारको घोट्टा पिएर लठ्ठिएकालाई चेतमा ल्याउन चिच्याएर हुन्न । मलम घसेर पिलो निको हुन्न । चिनैपर्छ, खिल निकाल्नैपर्छ । राजनीतिक डाक्टर लोक हुन् । डाक्टरी देखाउ लोक ।पुण्यभूमिमा मान्छे खाने गुरुमापाको इटुम्बहाल बन्न दिइरहने कि गुरुमापालाई तिनख्या (टुडिखेल) को कुनामा थान्को लगाइदिने ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports