kumari
stcnepal

पतिको निधनपछि श्रीमती बिरूद्ध भ्रष्टाचार बिरूद्धको मुद्दा अख्तियारद्धारा विशेष अदालतमा दायर

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका सँग कारोबार गरेको भवानी कन्स्ट्रक्शन प्रालिका सञ्चालक​ ईश्वरीप्रसाद भट्टकी पत्नी विरुद्ध ५ करोड ४३ लाखको भ्रष्टाचार मुदा दायर गरेको छ । भ्रष्टाचार गरी जोडेको सम्पत्ति असुलउपर गर्ने प्रयोजनका लागि भट्टकी पत्नी खगेश्वरी भट्टलाई प्रतिवादी बनाई अख्तियारले बुधबार मुद्दा दायर गरेको हो।

तर ईश्वरीप्रसाद भट्टको भने निधन भइसकेको छ। भ्रष्टाचार गरेको व्यक्तिको मृत्यु भए पनि निजको हक खाने अंशियारलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ मा महाकाली नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा, ग्राभेल) को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याएको उजुरीका आधारमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय तथा बिगोजफत समेतको सजाय हुन एवं प्रतिवादी ईश्वरी प्रसाद भट्टको मृत्यु भएको देखिएकोले अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्वान्त एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२) र १५८ को उपदफा (२) सहितको कानूनी व्यवस्था बमोजिम निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ उपदफा (२) र दफा १५८ उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेको’ अख्तियारको आरोपपत्रमा उल्लेख छ।

यस्तै ठेक्का पाएको भवानी कन्ट्रक्सनका दिवाकर भट्टबाट समेत अख्तियारले ५ करोड ४३ लाख बराबरको सजाय र त्यति नै बिगो जफतको मागदाबी गरेको छ।

footer