kumari
stcnepal

राजनीतिमा अपराधिकरण मिसाइयो

 

काठमाडौ । नक्कली भुटानी शरणार्थी काण्डले गर्दा नेपालको प्रतिष्ठामै आँच पुगेको छ । नक्कली भुटानी शरणर्थी काण्डमा सरकारी उच्च तहमा बसेका व्यक्तिहरु नै संलग्न हुनु भनेको अपराध मात्र नभएर महाअपराध, राष्ट्रद्रोह र राष्ट्रघाती कार्य समेत हो । नेपालमा धेरै प्रकारका भ्रष्टाचारका काण्ड भएका छन् ।
ती सबै काण्डमा प्रायः सरकारी उच्च तहमा बसेका र राजनीतिज्ञहरु नै जोडिएका हुनाले उनीहरुमाथि कानुनी कारबाही नहुने र भ्रष्टाचारीहरु उम्किँदै आएका हुनाले पनि नक्कली भुटानी शरणार्थी काण्डलाई बल पुगेको देखन्छि । पछिल्लो समयमा सार्वभौम नेपाली जनतालाई अनागरिक बनाएर अमेरिका पठाउने सपना देखाएर नेपाली जनताबाट मोटो रकम उठाउनु भनेको नेपालकै बेइज्जत हो । यस घटनाले गर्दा नेपालीलाई देश होइन पैसा मात्र चाहिएको छ भन्ने थप पुष्टि भएको छ । नेपालीले जसरी भएपनि पैसा कमाउन खोज्छन् भन्ने तर्कलाई यस काण्डले बल पु¥याएको छ ।
दलहरु भ्रष्टाचारको आहलमा पौडी खेल्दै गरेका तस्वीर पनि सार्वजनिक भएका छन् । राज्यका संयन्त्र मात्र होइन दलहरु नै भ्रष्टाचारमा संलग्न भएका छन् । आफ्नो पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लागेपछि उनीहरुलाई पार्टीबाट निलम्बन गर्नुपर्नेमा कांग्रेसले पूर्व गृहमन्त्री वालकृष्ण खाँण लगायत अन्यलाई अहिलेसम्म निलम्बन समेत गर्न सकेको छैन । नेकपा एमालेले भने आफ्नो पार्टी सचिवलाई निलम्बन गरिसकेको छ । यस घटनामा संलग्न भएका भनिएका केही व्यक्तिहरु डामेका साँढे जसरी सार्वजनिक रुपमा डुक्रिन थालेका छन् ।
पछिल्लो घटनाहरु हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरण जस्तो नेपाली नागरिकलाई अनागरिक बनाउने खेलमा संलगन भएकाहरु सजिलै सजाँयको फन्दाबाट उम्किने संकेत देखिन थालेका छन् । नेपालमा भ्रष्टाचार विकेन्द्रित भईसकेको छ । दलहरुले गाउँ गाउँमा सिंहदरबार पुग्ने भन्ने नारा दिएका थिए । अहिले गाउँ गाउँमा सिंहदरबार होइन गाउँ गाउँमा विकेन्द्रित भएर भ्रष्टाचारमात्र पुगेको छ ।
अहिले यस्तो अवस्थामा यस्ता कार्यलाई अन्र्तराष्ट्रिय जगतले कसरी हेर्छ भन्ने अर्को महत्वपूर्ण प्रश्न उठेको छ । विदेशमा रहेका नेपाली नागरिकले हामी नेपाली नागरिक हौँ भन्न लाज मान्नुपर्ने अवस्था सिर्जना भएको छ राजनीतिलाई अपराधिकरण गरिएकै कारण यस्ता जघन्य अपराध भएका हुन् । जबसम्म राजनीतिलाई अपराधिकरण हुनबाट मुक्त गरिँदैन तबसम्म यस्ता जघन्य अपराधमा कमी आउन सक्दैन । भ्रष्टाचारलाई राजनीतिबाट लग गरेर यसलाई अपराधका रुपमा परिमार्जित गरिनु अहिलेको पहिलो आवश्यकता हो ।
भ्रष्टाचारमा संलग्न भएका चाहे प्रधानमन्त्री नै किन नहुन् उनीमाथि कानुनी कारबाही हुनैपर्दछ । अपराधीहरुलाई राजनीतिक दलहरुले संरक्षण दिएको खण्डमा यिनै दल र व्यक्तिमाथि समेत कानुनी कारबाही हुनु आवश्यक छ ।

footer