kumari
stcnepal

देशद्रोही राष्ट्रघातीहरुलाई कडा कारबाही होस्

 

काठमाडौ । नक्कली भुटानी शरणार्थी काण्डको पर्दाफास भएपछि संसद देखि सडकसम्म सो प्रकरणको विरोध हुँदै आएको छ । सरकारी उच्च पदमा बसेकै व्यक्तिहरु उक्त प्रकरणमा जोडिएका हुनाले उनीहरुलाई अन्यको भन्दा बढी सँजायको माग हुनुपर्ने आवाजसम्म सडकमा उठेको छ ।
नेपाली नागरिकहरुलाई अनागरिक बनाएर अमेरिका पठाउने भन्दै सयौँ नेपाली नागरिकलाई मिठो सपना देखाएर करोडौँ रकम असुलउपर गर्नेहरुमाथि राष्ट्रघात र देशद्रोहको मुद्दा चलाइनु उपर्युक्त हुनेछ । सो प्रकरणमा जोडिएका पूर्व उपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एव नेपाली कांग्रेसको नेता बालकृष्णा खाँण, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र आफैँ शरणार्थी रहेका भुटानी नागरिक टेकनाथ रिजालमाथि राष्ट्रघात र देशद्रोह गरेकोमा समेत मुद्दा चलाइएको छ ।
आफैँ शरणार्थी रहेका र नेपाल सरकारले रिजाललाई सवारी सधान सहित मासिक जीवन निर्वाह भत्ता र बेला बेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर आर्थिक सहायता समेत प्रदान गर्दै आएको र उनलाई सुरक्षाकर्मी समेत नेपाल सरकारले दिँदै आएकोमा शरण दिने देशका जनतालाई अनागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्न हुनु भनेको शरणका साथै अन्य सुविधा दिने देशमाथिको राष्ट्रघात र देशद्रोह नै हो ।
नक्कली भुटानी शरणार्थी काण्डका नाइके रहेका केशव दुलाल र सानु भण्डारीको अपराध कानुनले क्षमा गर्न सक्ने अवस्था देखिँदैन । उनीहरुले विभिन्न प्रलोभन देखाएर पूर्व उप प्रधानमन्त्री समेत रहेका र बहालवाला सांसद सहित पूर्व गृहमन्त्री र तत्कालिन गृहसचिव समेत रहेका टेकनारायण पाण्डेलाई समेत पैसाको प्रलोभनमा पारेर आफ्नो पक्षमा लिन सफल हुनु भनेको अर्को गम्भीर अपराध हो । मन्त्रीका सुरक्षा सल्लाहकार समेत रहेका इन्द्रजित राईलाई समेत आफ्नो प्रलोभनमा पार्नु र उनैबाट सबै कार्य गराउनु अर्को जघन्य अपराध हो । आफैँ शरणार्थी रहेका टेकनाथ रिजाललाई ठगी, संगठित अपराध राज्यद्रोह र राज्य विरुद्धको अपराधमा समेत मुद्दा चलाइनुपर्दछ ।
नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान गरेर प्रहरीले १६ जनामाथि विभिन्न प्रकारका मुद्दा चलाइनु पर्ने राय सुझाव सहित सरकारी वकिल कार्यालय काठमाडौलाई मुद्दा बुझाईसकेको छ । सरकारी वकिल कार्यालयले सो मुद्दाको अध्ययन गरि कुन कुन विषयमा मुद्दा चलाउने भनेर निर्णय पश्चात् १० गते बुधबार जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको छ । यस प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति दिने प्रयास कहिँ कतैबाट हुनु हुँदैन । सरकारी दबाव र प्रभाव विनै यो प्रकरणको अन्त्य हुनु आवश्यक देखिन्छ । भ्रष्टाचारी, देशद्रोही र राष्ट्रघातीहरुको कुनै धर्म र देश हुँदैन । उनीहरुको धर्म भनेको पैसा लुट्नु र भ्रष्टाचार गर्नु नै हो भन्ने यस काण्डले प्रमाणित गरेन र ?

footer